प्रथम ब्याच २०२८ साल,
निर्मल ज्योति हालको
चन्द्रोदय मा.बि कमाने !
२०२३ साल पौषमा नुवाकोटमा
जन्मेको रे म ! नेवारहरु प्राय घुमन्ते अर्थात व्यापारिक स्वभाव भएकोले पुर्ख्यौली
थातथलो छोडेर नयाँ स्थानमा बसाई सर्नु कुनै नयाँ र नौलो कुरो भएन ! नेपाल
अधिराज्यभरि नेवार जाति फैलिएको यस्तै गरि हो भन्ने कथन पनि छ !
म जन्मेको २ बर्ष नपुग्दै
मेरो पुर्ख्यौली जन्मथलो नुवाकोटबाट चितवन हालको पारस बसपार्क अगाडी हामीहरु बसाई
सरि गएको हौ ! २०२८ सालमा हाम्रो घर चोरि भएकोले मेरो मुवा चितवन बस्न मान्नु
भएनरे त्यहा बाट नया स्थानको खोजीमा २०२८ सालमा नै हामीहरु हेटौडा बजारमा आएको हौ
! हेटौडा बजारमा आयेसी हालको सिमा लज अगाडी रत्नलाल साहुजीको जमिन भाडामा लिएर
होटेल तथा पसल संचालन गरेको सम्झना पनि ताजै छ !
हाम्रो होटेलमा गाउँ तिर
बाट दुध बेच्न मान्छेहरु आउथे ! त्यसै क्रममा २ जना मान्छे सित बुवाले कुराकानी
गर्नु भयो ! गाउँमा स्कुल त खोलियो तर पढाउने मास्टर नभयेर मास्टर खोज्न आएका रैछन
! पहिला त मुवाले मान्नु भएनछ तर आफ्नै फुपाज्युले व्यापारमा धोका दिएकोले मुवाले
गाउँमा बसाई सरेर जाने निर्णय गर्नु भयो र ! हामीहरुको हेटौडा बजारको बसाई
मुस्किलले ५/६ महिना मात्र भएको हो र २०२८ साल देखि आजको मिति सम्ममा हाम्रो
बसोबास हेटौडा ८ कमानेमै छ !
कमाने राजपानी कुवां अहिले
त धारा जस्तो बनाको छन त्यो कुवाको बारेमा पनि एउटा रोचक कथा छ रे ! उहिले
स्व.राजा महेन्द्र दर्बारबाट निस्केर झुत्रो झाम्रो लुगा लगाएर हातमा राजदण्ड
बोकेर गाउँ घुम्न निस्किनु हुन्थ्योरे ! त्यसै गरि निस्किने क्रममा हाम्रो गाउँमा
आईपुग्नु भाको रहेछ ! त्यतिखेर घना जंगल थियो ! हामि आउँदा सम्म पनि घना जंगलै
थियो ! राजालाई प्यासले सताएको रैछ ! पछी एउटा खोंचमा पुगे पछी चिसो चिसो देखेर
हातले खोस्रीदा पानीको मूल फुट्योरे त्यो दृश्य नजिकै बस्तु चराएको अधबैसे
गोठालोले देखेका रैछन ! ति गोठाला पहिला सेनाको नायकरे ! राजाको हातमा राजदण्ड
बोकेको देखेर राजा भनेर चिनेछन ! राजाले बनाको कुवा भाको भएर ‘राजपानी’ कुवां भनेर
नामाकरण भएको भन्ने भनाई छ र त्यहि कुवाको पानि पिएर हुर्केका हौ हामीहरु !
राज्पानी कुवा पारि सानो
बस्तीमा तिन घर घिमिरे र १ घर सेनाको मेजर भन्दा अरु बस्ति थिएन त्यो बेला !
सेनाको मेजर भनेसी निकै सक्तिसाली ! छिमेकी बहालवाला मेजर भक्त बहादुर गुरुङलाई
हरि प्रसाद घिमिरे र हालको कालिकास्थानमा बस्ने हरि बहादुर बस्नेत २ जना भएर
गाउँमा स्कुल खोल्नु पर्यो भनेर माग गरेका रैछन ! गाउँले छिमेकको आग्रहलाई नकार्न
पनि सक्नु भएनरे मेजर साबले त्याहा माथि स्कुल भयो भने आफ्ना भुराभारीले नि पढ्न
झन्डै ४५ मिनेटको बाटो नजिकैको कर्रा खोला तरेर
बजार जानुनि नपर्ने सोचेर माथि भनसुन गरेर स्कुल निकासा गराई दिनु भएछ !
स्कुल निकासा भयो !
गाउलेहरुले आफैले फुसको छानो र कत्तरले बारेर ३/४ थान डेक्स, बेंची, १ थान कुर्चि टेबुल त बनाए तर भुरा पढाई दिने
कसले ? खोज्दै जाँदा मेरो बुवा फेला पार्नु भएछ ! मेरो बुवाले जन्मथलो नुवाकोटको
बिकट गाउँ बुंगतांगमा १७/१८ साल तिर पनि मास्टरी गर्नु हुन्थ्योरे !
२०२८ साल को पहिलो सत्रमा
हामी वडा नं ८ का म पंक्तिकार, बिरमान घलान, बिक्रम मोक्तान,बच्चु लामा, कृष्ण
बहादुर श्रेष्ठ, चेतनाथ आचार्य, ध्रुब प्रसाद घिमिरे, कृष्ण प्रसाद घिमिरे, अर्जुन
प्रसाद घिमिरे, केदार प्रसाद अर्ज्याल, हर्क बहादुर थिंग र अनि छिमेकी वडा नं ७ का
कृष्णराम पाठक, भरत खडका, दल बहादुर खडका, प्रेम बहादुर खडका, शान्त घलानर ध्रव
खुलालहरु थिए !
गाउँमा त्यतिबेला भुरा
पढाउने चलन थिएन ! मेरो बुवा बिहान र साँझ अभिभावकहरुलाई भुरा पढाउनु पर्छ भन्दै
गाउँ डुल्नु हुन्थ्यो ! तामांग बहुल गाउँ हो हाम्रो ! धादिंगको किरान्चोक बाट बसाई
आको भएर किरान्चोके टोल भन्ने टोल नै नामकरण भएको थियो र अहिले सम्म छ पनि ! हेटौडा
बगरको सबै भन्दा ठुलो वडामा हाम्रो वडा पर्छ !
यौटा रमाइलो घटना !
सेनाको जमदारको छोरा र छोरी
२ जना भर्ना हुन आए ! बुवाले केटि लाई नाम सोध्नु भयो के नाम हो भनेर ! जवाफ दीईन
‘केदार’ अनि केटालाई सोध्नु भयो जवाफ दियो ‘बाबुकाजी’ ! बुवाले यस्तोनी नाम हुन्छ
भनेर केटिको नाम ‘सरस्वती’ अनि केटाको नाम ‘केदार’ भनेर राखी दिनु भयो अहिले सम्म
पनि तिनीहरुको त्यहि नाम कायम छ !
भुराभारीहरु धुलो मैलो
फोहोरी भएर आउने ! नगर पंचायत भनेर के गर्नु बिकट दुर्गम जस्तै गाउँ थियो हाम्रो !
बुवाले दांत माझ्नु पर्छ, मुख धोएर कपालमा तेल लाएर कोरी बाटी गर्नु पर्छ ! लुगा
सफा लगाउनु पर्छ भनेर सिकाउनु हुन्थ्यो ! मेरो तामांग साथीहरु तेल तप तप चुहाउदै
आको देखेर बुवा हास्नु हुन्थ्यो ! अनि यसरि तेल दल्ने हैन मोराहरु ‘हातमा अलिकति
तेल हालेर कपालमा दल्ने भनेर सिकाई दिनु हुन्थ्यो !
स्कुल निकासा भएर आउँदा
स्कुलको नाम ‘निर्मल ज्योति रास्ट्रिय प्राथमिक स्कुल बहादुरगन्ज, कमाने’ कायम
थियो ! शिसु बाट ४ कक्षा सम्म हामीले पढ्दा स्कुलको नाम परिवर्तन भएको थिएन ! पछी
स्कुलमा बिधार्थीको चाप बढ्दै गयो ! बुवाले भ्याउन सक्नु भएन ! पछी ७ कक्षा पढेका छिमेकि
वार्ड न ७ का कमल केसी र मिना थापा २ जनालाई बुवाले सहायक राख्नु भयो !
२०३२ सालमा हामीले नि.मा.बि
पढ्न खोला पारीको श्रमिक नि.मा.बि मा गयौ ! सायद हामीहरुले स्कुल छोडे पछी स्कुलको
नाम पनि परिवर्तन भएको हुनु पर्दछ ! हेटौडामा नया शिक्षा २०३३ सालमा लागु भएको हो
! शिक्षक तालिम अनिवार्य लिनु पर्ने भए पछी बुवा बिहान तालिम दिउसो स्कुल गर्नु
हुन्थ्यो ! पछी खै के कारणले खटपट भएर हो बुवाले २०३३/३४ सालमा स्कुलबाट राजीनामा
दिएर शान्ति बनस्पति घ्यु कारखानामा जागिर खान जानु भयो !
हाम्रो वडाको सबै जग्गा
जमिन २०३६ साल सम्म ऐलानी थियो ! जमिनको नापी २०३२ साल बाट सुरु भएको जस्तो लाग्छ र
त्यो बेलामा स्कुलको जमिन बुवाले नै नपाई दिनु भएको हो र स्व.मेजर भक्त बहादुर
गुरुङले खाली पर्ती ऐलानी जमिनमा स्थापना गर्नु भन्ने दिएको आदेसानुसार मूल कच्चि मोटर
बाटोको छेउमा २ पाखे फुसको छानो भएको त्यो स्कुललाई पछी २०३४/३५ सालमा डाँडामा
स्थापना गरिएको हो !
निर्मल ज्योति अर्थात हालको
चन्द्रोदय हाई स्कुल स्थापनामा स्व.मेजर भक्त बहादुर गुरुङको जति देन छ त्यतिनै
देन स्व.हरि प्रसाद घिमिरे, स्व.हरि बहादुर थापा र मेरो बुवा अर्थात त्यो स्कुलको
पहिलो मास्टर श्री नारायण मान शिंह डंगोलको पनि छ र त्यस पश्चात अन्य सहयोगीमा
अक्कल बहादुर थिंग, स्व.तुल बहादुर मोक्तान, स्व.श्रीमान घलान, स्व.कुल बहादुर
घलान, बीर बहादुर घलान, हस्त बहादुर थिंग, वृष बहादुर थापा, गोपी मुक्तान, बाबुराम
ढुंगाना समेतको देनलाई भुल्न सकिदैन !
सुन्दैछु यी पात्रहरु
मध्येको कतिपय जीवित पात्रहरुलाई बेवास्ता गर्दै नयाँ नयाँ नाउको पात्रहरुलाई
स्कुलको संस्थापक घोषणा गरेर सम्मान गरियो रे ! नेपालको राजनीति पार्टीको
भागबण्डाको रोगले स्कुललाई पनि गाँजेको रै छ जुन घृणित तथा दुखद कदम हो !
सम्मान गर्ने हो भने
स्व.भक्त बहादुर गुरुङको धर्म पत्नी अहिले पनि जिवितै हुनुहुन्छ उहाँलाइ गर्ने गरौ
! स्कुल निर्माणमा उहाँको पनि देन छ भने पहिलो शिक्षक र हेटौडा नगर पालिका वार्ड
नं ८ र ७ मा ‘नारान मास्टर’ को नामले चिनिनु भएको श्री नारायण मान शिंह डंगोललाई
कमानेको स्कुलले कसरि बिर्सियो त्यो अचम्मको कुरा हैन र ? ईतिहासलाई बंग्याउने काम
कोहि कसैबाट हुनु गरिनु त्यो राम्रो काम हैन किनभने त्यो स्कुलको हामी पहिलो
बिधार्थीहरु अहिले सम्म साक्षी बनेर बसेका छौ !
‘अस्तु’