Saturday, October 27, 2018

हिन्दु धर्म, राजा सहितको प्रजातन्त्रको माग गरेन भने कांग्रेसको पतन अबस्य हुन्छ

-जनकमान डंगोल 
देशलाई संकट आईपरेको खण्डमा राजाको गर्धन मुनि मेरो माथि हुनेछभन्ने  जन नायक स्व.बि.पी कोईरालाले जिन्दगीभर कम्युनिस्ट पार्टीको संगत गरेनन । कम्युनिस्ट पार्टीको संगत गर्नु हुन्नभन्ने दृढ बिचार समेत राख्थे तर बि.पी को भनाईलाई किनारा लगाउदै २०४५ साल देखि नेपाली कांग्रेस पार्टी कम्युनिस्ट पार्टीहरुको संगतमा रमाउन थाले । केहि समयको लागी राजसी सुखभोग प्राप्त नगरेका पनि हैनन् तर अहिलेको निर्वाचनको परिणामले देखाएको नतिजाले  केहि समय कम्युनिस्टहरु संग गरेको संगतको परिणामको फल राम्रै संग देखाएको छ । आफ्ना पार्टीका संस्थापक नेता स्व.बि.पी ले कम्युनिस्टहरुको संगत किन गरेनन ? निर्वाचनको परिणामले देखाए पछी अहिलेका अबुझ कांग्रेसीहरुले बल्ल बुझेको हुनु पर्दछ ।

२०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्र बहाल गरियो । आफ्नै पार्टीको संस्थापक नेता बि.पी को बिचारहरु बिस्तारै पाखा लगाउदैं गए । बिदेसिको कुटिल चाल नबुझेर कम्युनिस्ट संग घांटी जोडने अन्य संस्थापक नेताहरु स्व.गणेशमान शिंह देखि कृष्ण प्रसाद भटराईलाई पार्टी छाडन बाध्य पारियो । यस्तै गतिबिधि हुन्छ भनेर थाहा पाएको भए स्व.महेन्द्र नारायण निधि देखि स्व.गणेशमान हुँदै स्व.भटराईले समेत कम्युनिस्टहरुसंग स्व.बि.पी ले जस्तै गरि सहकार्य पक्कै पनि गर्दैन थिए होला । यस्तो हुनुमा मुख्य दोषी स्व.बि.पी का आफ्नै सहोदर भाई स्व.गिरिजा प्रसाद कोईराला सहित बिदेसिको ईसारामा नाच्नेहरु सतप्रतिसत जिम्मेवार थिए ।

नेपाली कांग्रेस पार्टीले संस्थापक नेताहरुको मार्ग र बिचार भुले । यस्तो भयो भने नेपाली कांग्रेस पतन हुन्छ । प्रजातन्त्र खतरामा पर्छ भनेर स्व.बि.पी पुत्र प्रकास कोईरालाले आवाज उठाउँदा आफ्नै सहोदर काका स्व.गिरिजा प्रसाद कोईरालाको ब्यक्तिबादी हठको कारण प्रकास कोईराला सधै अल्पमतमा पर्ने गरेका थिए । स्व.गिरिजा प्रसाद कोईरालाको निधन पश्चात स्व. सुसिल कोईराला पार्टीको नाम मात्रको हर्ताकर्ता बने । कम्युनिस्ट पार्टीको रोग कांग्रेस पार्टीमा सल्कियेकै थियो । पार्टी फुट्दै पछी जुटे पनि तर गुटबन्दीको कारणले देसको एक नम्बर पार्टी नेपाली कांग्रेस अहिले नराम्रो संग थला परेको छ ।

नेपाली कांग्रेस पार्टीले धर्म निरपेक्ष देखि गणतन्त्रको बाटो समातेको धेरै नेपाली जनताहरुलाई मन परेको थियेन । आफ्नै दाज्यु प्रकास कोईरालाको तेजोबध गरेको घटनालाई मनमा गढ़ायेर राखेको शसांक कोईरालाले आफ्ना पिताको मार्ग पहिल्याउदै नेपालमा धर्म निरपेक्ष हुनुहुन्न, धर्म निरपेक्षको नाराले कांग्रेसको पतन हुन्छ भनेर नभनेका पनि हैनन । हिन्दु धर्म देखि प्रजातन्त्रको रक्षाको लागी लडाई लडेको नेपाली काग्रेस पार्टीको मूल नारानै रास्ट्रियता, प्रजातन्त्र र समाजबादको थियो । बिदेसिको ईसारामा प्रजातन्त्रभन्ने मूल नारानै मेटन समेत पछी नपर्ने अहिलेका कांग्रेसी ठालुहरुले पार्टीको मूल नारा देखि राजा सहितको प्रजातन्त्र लाई लात हानेको परिणाम पनि राम्रै संग भेटेका छन ।

कम्युनिस्टहरुको नारानै गणतन्त्र हो । कम्युनिस्टहरुले धर्म संस्कृति र राजतन्त्र मान्दैन । कम्युनिस्टहरु धर्मलाई अफिम जस्तै कडा नसाहो भनेर ठान्दछन । हिजो त्यही सिके र अहिले पनि त्यहि सिकाउदैछन । कम्युनिस्ट पार्टीका ठालु नेताहरुले समय समयमा दिने भाषण  देखि मन्तव्यले त्यसलाई पुस्टि पनि गरि सकेको छ तर जनताले भोट नदेलान भनेर नेपालका नास्तिक कम्युनिस्ट नेता देखि तिनका आसेपासेहरु निधारमा चन्दन देखि रातो टिका अनि गलामा फुलको माला देखि खादा लगाउन समेत लाज मान्दैनन । राजाको नक्कल गर्दै दशैमा आफ्ना कार्यकर्ताहरुलाई दशैँ टिका लगाउने चलन पनि बसालेका छन ।

नेपालको कम्युनिस्ट पार्टीका प्राय सबै नेताहरु बहुरुपिया चरित्रका हुन  भनेर नेपाली जनताहरुले अझै पनि चिनेका छैनन तर जुन दिन चिन्छन त्यो दिन ढिलो भई सकेको हुनेछ । समाजबाद र प्रजातन्त्रको नारा जप्ने कांग्रेसीहरु आफु पुरानै स्थानमा फर्केर देश र जनताको सेवा गर्न चहान्छन भने आफ्ना संस्थापक नेता स्व.बि.पी को मार्गमा हिडन सक्नु पर्छ । त्यो भनेको हिन्दु राष्ट्र सहितको  राजतन्त्र हो । यदि सक्दैनन भने नेपालमा राणा फालेर प्रजातन्त्रको स्थापना गर्ने कांग्रेस पार्टी पनि एकादेसको कथामा पक्कै पनि बिलिन हुनेछ ।