Showing posts with label खेलकुद. Show all posts
Showing posts with label खेलकुद. Show all posts

Tuesday, December 27, 2016

रिसाहा खेलाडीले मैदानमै रेफ्रीलाई भकुरे

खांट्टी कुरा     December 27, 2016    
इटहरीः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् मंगलबार पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सकिएलगत्तै पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गरेका छन् ।
इटहरी रंगशालामा त्रिभुवन आर्मी क्लबसँग पराजय बेहोरेको पश्चिमाञ्चलका खेलाडीले राष्ट्रिय रेफ्री एवं प्रतियोगिताका मुख्य निर्णायक विनय राईमाथि मुक्का प्रहार गरेका हुन् ।
खेलमा पश्चिमाञ्चल आर्मीसँग २०-२५, २५-२०, २५-२०, २५-११ को सेटले पराजित भएको थियो । खेलाडीले सही तरिकाले रेफ्रीले निर्णय नगरेको र आर्मीको समर्थन गरेका कारण यस्तो अवस्थाको सिर्जना भएको दाबी गरेका छन् । खेल सकिएलगत्तै हात मिलाउनका लागि जम्मा हुने क्रममा एक्कासि आफूमाथि खेलाडीले मुक्का प्रहार गरेको राईले बताए ।
‘खेलमैदान भित्र खेलको नियमविपरीत अश्लील शब्द बोलेपछि मैले खेलाडीलाई पहेंलो कार्ड दिएको थिएँ,’ उनले भने, ‘त्यसको रिस उनीहरूले खेल सकिएलगत्तै म माथि आक्रमण गरेर पोखे ।’
खेल चालू रहेकै अवस्थादेखि पश्चिमाञ्चलका खेलाडी रेफ्री राईप्रति आक्रोशित बनेका थिए । रेफ्री बसेर खेल खेलाइरहेको अवस्थामा सटर सञ्जुविक्रम शाहले मैदानबाटै ताकेर बल प्रहार गरे पनि राईलाई भने लागेन । राईले उक्त प्रहारलाई सामान्य रूपमा लिए ।
‘सट हान्ने निहुँमा मैदानबाटै बल प्रहार गरियो । हार बेहोर्दै गएका खेलाडीको आवेशलाई मैले सामान्य रूपमा लिएँ’, राईले भने, ‘खेल सकिएपछि भने आक्रमण नै भयो । रेफ्रीले गरेको निर्णय चित्त नबुझेमा कानुनी उपचार खोज्न सकिने व्यवस्थाको विरुद्धमा अनुशासनविपरीत खेलाडी उत्रिएका छन् ।’
खेल अवधिमा दर्शकको भारी समर्थन बटुले पनि रेफ्रीमाथि खेलाडीले आक्रमण गरेपछि भने दर्शक पश्चिमाञ्चलका विरुद्धमा खनिएका थिए । त्यसलगत्तै नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा दिएर खेलाडीलाई मैदानबाट बाहिर निकाल्नु परेको थियो।
नियम तोडेर आक्रमण गरिएको भन्दै रेफ्रीले कुटपिटमा संलग्न खेलाडीलाई कारबाही नभएसम्म प्रतियोगिता सञ्चालन नगर्ने अडान लिएपछि भलिबलसँग सम्बद्धहरूको आकस्मिक बैठक बसेको थियो । केन्द्रीय, क्षेत्रीय र स्थानीय भलिबल संघ, संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूबीच भएको आकस्मिक बैठकले कुटपिटमा संलग्न खेलाडीलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।
कुटपिटमा संलग्न खेलाडी रमेश केसी, लोकेन्द्र भण्डारी र राजन थापालाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको जानकारी प्रतियोगिताका व्यवस्थापक लेखनाथ पराजुलीले दिए । उनका अनुसार सुरुमा केसीले रेफ्रीलाई मुक्का प्रहार गरेपछि अन्य खेलाडी पनि कुटपिटमा उत्रिएका हुन् ।
‘खेलको नियम विपरीत खेलाडीले रेफ्रीमाथि आक्रमण गरेकाले कारबाहीस्वरूप एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘निलम्बनमा परेका खेलाडीले भलिबल संघले स्वीकृत दिएको कुनै पनि प्रतियोगितामा सहभागी भएर खेल्न पाउने छैनन्।’
त्यस्तै खेलाडीमा हुनुपर्ने अनुशासन नपाइएको भन्दै रेफ्रीमाथि बल प्रहार गर्ने र जालीमा लात्ताले हान्ने शाहले पनि सार्वजनिक रूपमा माफी माग्नुपर्ने निर्णय बैठकले गरेको छ ।
माफी नमागेमा उनलाई पनि एक वर्षका निलम्बन गर्ने निर्णय बैठकले गरेको जानकारी पराजुलीले दिए । उनका अनुसार खेलाडीले गराएको घटनालाई लिएर पश्चिमाञ्चलका प्रशिक्षक र व्यवस्थापकले पनि माफी माग्नुपर्ने निर्णय बैठकमा भएको छ ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .