Home » » अबभने राजधानीका बासिन्दाहरुले मेलम्चीको पानी खान पाउने भए

अबभने राजधानीका बासिन्दाहरुले मेलम्चीको पानी खान पाउने भए

Written By खांट्टी कुरा on Thursday, December 29, 2016 | December 29, 2016

 १४ पौष काठमाडौः राष्ट्रिय गौरवको बहुचर्चित र प्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल-सिन्धु सुरुङमा बुधबार पहिलो ‘ब्रेक थु्र' भएको छ । सुन्दरीजलबाट खन्दै अगाडि गएको सुरुङ सिन्धुबाट खन्दै आएको सुरुङमा बुधबार दिउँसो तीन बजे मिसिएको हो । यो सुरुङ खण्ड सबैभन्दा लामो ९.४ किलोमिटर लम्बाइको छ ।
‘अझै यस्ता दुईवटा विन्दुमा काम सम्पन्न हुन बाँकी छ,' आयोजनका प्रमुख घनश्याम भट्टराईले भने, ‘आज भएको यो पहिलो कामले अब तोकिएकै समयमा उपत्यकाबासीले मेलम्ची पानी प्रयोग गर्न पाउने विश्वास बढेको छ ।' २०७४ असोजभित्र उपत्यकावासीलाई मेलम्चीको पानी पुर्‍याउने आयोजनाको लक्ष्य छ ।
आयोजनाअन्तर्गत कुल २७ किलोमिटर सुरुङ मार्गमध्ये अहिलेसम्म २०.३८ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । अब ५ हजार ५ सय २९ मिटर सुरुङ निमार्ण गर्न बाँकी रहेको आयोजनाप्रमुख भट्टराईले बताए । ‘सुरुङ निमार्णको करिब ८० प्रतिशत काम भइसकेको छ,' उनले भने । आयोजना सम्पन्न हुन अडिटसहित २७.५ किलोमिटर सुरुङ खन्नुपर्छ ।

बुधबारको ब्रेक थु्रसँगै अब सिन्धुदेखि ग्यालथुमसम्म निर्माण भइसकेको दुई किलोमिटरसहित सुन्दरीजलबाट ११.६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । आयोजनाले ग्यालथुम-अम्बाथान सुरुङको ब्रेक थ्रु पनि केही समयमै गर्ने उल्लेख गरेको छ । सिन्धु-ग्यालथुम सुरुङमार्गको ब्रेक थु्रमा भने केही समय लाग्ने आयोजनाले जनाएको छ ।
अब आयोजनाअन्तर्गत सिन्धुदेखि ग्यालथुमसम्मको २.८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २.७ किलोमिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले उल्लेख गरेको छ ।
अहिलेसम्म निर्माण भएको सुरुङमध्ये सन् २००९ देखि २०१२ सम्म काम गरेको चिनियाँ कम्पनीले ६.४ किलोमिटर सुरुङ निर्माण गरेको थियो । चिनियाँ कम्पनीले त्यसबापत १८ मिलियन डलर रकम लगेको थियो ।
चिनियाँ कम्पनीको ठेक्का रद्द भएपछि इटालियन सीएमसी कम्पनीसँग २०१३ जुलाईमा कुल एक सय २० मिलियन डलरको लागतमा सुरुङ निर्माणको सम्झौता भएको थियो । सन् २०१६ सेप्टेम्बर सम्ममा काम सम्पन्न गर्नुपर्ने भए पनि आयोजना लागतमा ४० मिलियन डलर थप गर्दै ६ महिना समयावधि थपिएको थियो ।
निर्माण कम्पनीले भने २०१७ अक्टोबरमा सम्पन्न गर्ने गरी काम गरिरहेको छ । तीन सय १७ मिलियन डलर कुल लागत रहेको आयोजना सम्पन्न भएपछि पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको १७-१७ करोड लिटर पानी थप्ने आयोजनाको लक्ष्य छ । 
(अन्नपूर्ण पोस्टबाट साभार)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger