Saturday, September 12, 2015

एउटा ठिक आर्को बेठिक कसरी भयो ?



-जनकमान डंगोल/janakdangol@gmail.com
बिगत केहि दिन देखि नेपालको दक्षिणी भूभाग तराई असान्त छ । तराईलाई २०६४ साल पछी केहि मदेसका मसिहा हौ भन्नेहरुले मदेस भनेर न्वारान गर्देका छन । यी मदेस्का मसिहा हौ भन्नेहरु सत्ताको स्वादमा हुन्जेल माखो मार्दैनन । भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेर मदमत्त हुँदै आफुलाई अमरावतीको देवराज ईन्द्र सम्झेर भोगविलासमा रमाएर बस्छन ।

२०४६ साल भन्दा अगाडी हुन या पछी नेपालको राजनीतिक पार्टीका असंख्य नेताहरु बिदेसिको ईसारामा नाच्ने रिमोटरुपी पुत्ला हुन भनेर ति पार्टीका नेताहरुले देखाएको हाउभाउ देखि गतिबिधिबाट प्रस्ट भै सकेको छ । उदाहरण थुप्रै छन के गन्ति गराई भो । यी पार्टीका नेताहरु देखि तिनका भेडारुपी कार्यकर्ताहरुले देस र जनताको लागी सोच्थे भने नेपाल पनि आज सक्तिसाली र सम्पन्न देसमा गनिन्थ्यो होला ।

दोश्रो पटकको संबिधान सभाको निर्वाचनमा आसा गरे अनुसार बिजयी हुन नसके पछी मदेस्बादी देखि जनजातिका नेता भनौदाहरुले नेपालमा अराजक र हिंश्रक गतिबिधि मच्चाउदै आएका छन । यस्ता हिंस्रक गतिबिधिमा परेर सुरक्षाको लागि खटेका नेपाल आमाका बीर सन्तानहरु देखि नागरिकहरु सम्मले मृत्यु बरण गर्न पुगेका छन ।
प्
रहरीको काम भनेको समाजमा शान्ति सुरक्षा प्रदान गर्ने निकाय हो भनेर बुझिन्छ र यस्तै काम र कार्य गर्न भनेर नेपाली नागरिकहरु द्द्वारा आफ्नो आम्दानीको केहि हिस्सा तिरो मार्फत तिर्ने गरिएको हुन्छ ।

लोकतन्त्रमा आफ्नो भनाई राख्न सबैलाई छुट छ । भनाई राख्ने भन्दैमा अराजक देखि हिंश्रक गतिबिधि गर्न हुन्न भन्ने चेत भएको भए आफैले तिरो तिरेर पालिएको सुरक्षा फौज माथि कदापी आक्रमण गर्दैनथे ।

बिगत केहि दिन देखि नेपालको विभिन्न स्थानहरुमा मच्चिएको उपद्रो नेपाली नागरिकहरुले आफु खुसि गरेका हैनन । कम्युनिस्टको सब्द सापटी लिंदै भन्ने हो भने तराईका नव पुजीपति सामन्ती दलालहरुले आफ्नो पुस्तैनी सम्पतिको हिफाजतको लागी गरिब जनताहरुलाई उचालेर गराईएको आन्दोलन हो भन्दा फरक पर्दैन ।

तराईमा मच्चाइएको आन्दोलनको केहि मदेसी नेताहरु सक्कली नेपाली पनि हैनन । तिनि हरु मौकामा चौका हान्नको लागी अनेक तिकडम गरेर अंगिकृत नेपाली नागरिकता लिएक कथित नेपाली नागरिकधारीहरु बनेका हुन । यस्ता व्यक्तिहरु नेताको भेषमा सबै पार्टीमा मज्जै संग अटाएर खेल्ने खाने मौका पाएका छन ।

सक्कली नेपाली नागरिकहरुलाई देश दुख्छ । आफ्नो देसको लागी पसिना र रगत बगाउन हरदम तयार हुन्छन । बिस्वास लाग्दैन भने नवलपरासीको सुस्ता ईलाकामा बस्ने नेपाली नागरिकहरुलाई हेर्नुस किनभने ति नेपालीहरु भने सच्चा नेपाली मदेसी नागरिकहरु हुन । 

आफ्नो फाईदाको लागी मदेसको हक हित देखि पहिचानको लागी भनेर कथित युद्धको लागी उक्साईएको मदेसमा बस्ने नेपालीहरु यतिखेर दोहोरो चेपुवामा परेका छन । आन्दोलनको लागी प्रत्येक घरबाट निस्किनु भन्ने मदेसी नेताहरुको उर्दी छ । नजाउ भने मदेस बिरोधि भन्दै समाज बहिष्कार देखि हज्जारौ हज्जारको दण्ड जरिवाना लिन समेत पछी परेका छैनन । जाउँ भने सुरक्षाकर्मिको गोलि लागी कतिखेर कालको गाँस हुने था पत्तो नहुने ।

मिति २०७२ भाद्र २५ गते तराईको केहि स्थानमा हिंश्रक आन्दोलन भयो । ससस्त्र प्रहरीका १ जना सुरक्षाकर्मीलाई महोत्तरीमा आन्दोलनकारीहरुले घेरेर निर्धात कुटपिट गरे । कुटपिटबाट घाईते भएका ति सुरक्षाकर्मीलाई उपचारको लागी एम्बुलेन्स मार्फत जनकपुर लैजाँदा पुन बाटोमा घेरेर एम्बुलेन्सबाट थुतेर क्रुरतापुर्वक हत्या गरे भने एम्बुलेन्स समेत जलाएर ठुलो बहादुरी प्रदर्शन गरे ।

सोहि दिनमै महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भयो । मृत्यु हुनेमा महोत्तरी जिल्ला महेन्द्र राजमार्गमा पर्ने ब्यस्त बजार बर्दिबास देखि दक्षिण हातीलेट घर भई जलेश्वर२ मा डेरा लिएर बस्दै आएका प्राविधिक सहायक शम्भु मण्डलकी पत्नी रामशिलादेवी मण्डल हुन भन्ने बुझियो । उनी राप्रपा नेपालकी स्थानीय नेता समेत रैछिन ।

निषेधाज्ञाको अवज्ञा गरी प्रदर्शनमा उत्रेका राम शिला देबी मण्डललाई जलेश्वरको शङ्करचोकमा प्रहरीको गोली लागेको हो । मण्डलको टोउकामा गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो भने त्यसैगरी, सोही ठाउँमा स्थानीयवासी शम्भु चौधरीकी पत्नी शैलदेवी चौधरी पनि प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी छिन ।

रास्ट्रसेवक सरकारी कर्मचारीको पत्नी तथा रा.प्र.पा नेपालको स्थानीय नेता भएर ति महिला किन आन्दोलनमा भाग लिन गईन ? यो प्रश्न अब गर्ने बेला भयोकि भएन ? साथै रा.प्र.पा नेपालले सबै प्रकारको बन्द हड्ताल देखि हिंश्रक गतिविधिलाई समर्थन गर्दैन भनेर स्पस्टरुपमा भनिएको छ ।
आफ्ना पार्टीका स्थानीय नेताको मृत्यु भए पछी रा.प्र.पा नेपालका समर्थकहरुले सामाजिक संजाल फेसबुकमा गृहमन्त्री बिरुद्ध तथानाम लेखेको पनी देखियो तर २०६२/६३ को आन्दोलनताका रा.प्र.पा नेपालका अध्यक्ष मा.कमल थापा गृहमन्त्री थिए । भिड तथा दंगा नियन्त्रणको लागी सुरक्षाकर्मीले गोलि चलाउँदा केहि प्रदर्शनकारिहरु मृत्यु तथा घाईते भएका थिए । सोहि बिषयलाई लिएर आज सम्म पनि कांग्रेस, कम्युनिस्ट देखि मदेसी नेताहरुले मा.कमल थापालाई 'हत्यारा गृहमन्त्री' भनेर भन्न छोडेका छैनन । आफ्नो ठिक आर्काको बेठिक भन्ने बानि किन त्याग्दैनौ ?

पंक्तिकारले अहिलेको कुनै पनि राजनीतिक पार्टीलाई समर्थन गर्दैन किनभने जुन पार्टीहरुले देस र जनताको हितमा आज सम्म एउटा पनि सिन्को भाँचेको छैन भने त्यस्ता पार्टीहरुको पछी लागेर किन भेडे प्रवृतिको संख्या बढाउनु ।

गृहमन्त्री हुन या सुरक्षाफौज यी व्यक्ति बिशेष देखि पार्टीका निजि गहना हैनन । जुनसुकै पार्टीका हुन व्यक्ति हैन पदलाई सार्बजनिक हो भनेर बुझ्ने क्षमता जबसम्म राख्दैनन तब सम्म राजनीतिक पार्टीका नेताहरु देखि तिनका दीक्षित भेडा कार्यकर्ताहरुले देस र जनतालाई गुमराहमा पार्छन भनेर बुझ्ने बानि किन बसाल्दैनौ ? त्यसैले एकै प्रकृतिको घटनामा एउटा गृहमन्त्री बेठिक तर आर्को गृहमन्त्री ठिक चै कसरि भए
कान्तिपथ डटकममा प्रकाशित
प्रकाशित मिति: २०७२ भाद्र २६ गते सनिबार

No comments: