Friday, July 10, 2015

कामदारहरुले प्रबासमा किन मादक पदार्थ सेवन गर्छन ?

-जनक मान डंगोल
दाई तपाईको कम्पनीमा सेक्युरिटी खाली छैन ?
कार्टुन साभार: गुगल सर्च

 
मलेसिया  बसाईको दस बर्ष पुग्न केहि महिना अगाडी मेरो कम्पनि हेड क्वार्टर मलेसिया जोहोर राज्य अन्तर्गत बातुपाहत सहर नजिकै भएको गार्मेन्ट कारखानामा काम गर्ने पश्चिम लम्जुंग तिर घर बताउने बाहुन थरिका एकजना दुब्लो पातलो भाईले बाटोमा भेट्दा मलाई प्रश्न गरे । ति भाई चिन्तित र उदास अनि थकित थकित देखिन्थे ।


ति भाईको प्रश्नको उत्तर दिदै मैले भने 'छैन भाई म आफै फिनिस जान लागेको' ।

किन दाई ? तपाई त सेक्युरिटी गार्ड अनि दाईको त कमाई पनि राम्रो छ नि हैन र ?

मैले भने कमाई राम्रो भएर मात्र के गर्ने भाई दस बर्ष हुन लागी सक्यो यता बिदेसमा काम गर्न बसेको । अब घर परिवार पनि हेर्नु पर्यो नि हैन र ?


हिजो आईतवार साँझ डिउटी जान निस्केको थिए तिनै भाई पुन: कम्पनि अगाडी भेटिए । भला कुसारी गर्दै भने दाई के छ हालखबर ?

मैले भने ठिकै छ भाई, डिउटी जान लागेको ।

ह्वास्स मादक द्रव्यको गन्ध आयो, मैले भने आज सन्डे मनाउनु भाको जस्तो छ नि हो ?

उदास हुँदै ति भाईले लामो सास तानेर भने हो दाई ।

मलेसियामा गार्मेन्ट कम्पनि सयौं होलान तर सबै कम्पनीमा कमाई राम्रो छैन । गार्मेन्ट भनेसी लुगा सिलाई बुनाईको काम हुन्छ । बिना तालिम एकै पटक मिसिनमा बस्दा न सिलाउन जानिन्छ न राम्रो काम देखाएर जस लिन पाईन्छ ।

नेपालमा मेन पावर कम्पनीले बिज्ञापन निकाल्दा नाम चलेको बिस्व विख्यात कम्पनीको नाउँमा निकाल्छन तर कामदारले गर्नु पर्ने काम नतोकिकन सिधै 'जनरल वर्कर' भनेर लेखि दिंदा त्यो पदको अर्थ नबुझेर धेरै नेपालीहरुले श्रम अनुसारको ज्याला पाउदैनन ।

गार्मेन्ट कम्पनीमा सुरुको ३ देखी ४ महिना बेसिक सेलरीको आधारमा काम लगाउछ्न त्यो भने सुरुको तालिम सरह हो र जब बिस्तारै हात बस्दै जान्छ त्यस पछी जति काम त्यति दामको अबधारणा सुरु हुन्छ भने ८ घण्टा मात्र काम दियो भने त्यो कामदारले २६ दिनमा मुस्किलले ५ देखि ६ सय भन्दा ज्याला उठाउन सक्दैन ।
मलेसियामा काम गर्ने बिदेसी कामदारहरु मध्ये सयमा ९० भन्दा माथिलाई बार्षिक बिदाको रकम पाईन्छ भन्ने जानकारी छैन । बार्षिक बिदा भनेको तपाईले ३६५ दिन कम्पनिमा रुजु हाजिर रहेर काम गर्नु भयो भने सुरु देखि ३ बर्ष सम्म बार्षिक ८ दिन बिदा पाईन्छ र सुरुको बेसिक प्रति घण्टालाई त्यसमा जोडेर रकम भुक्तानी दिने गरिन्छ ।

बिदेसमा काम गर्न जानु भन्दा पहिला सम्बन्धित कामदारलाई गरिने कामको बारेमा जानकारी दिनु सख्त जरुरि छ र कामको जानकारीको साथ साथै तलब भत्ता, बिमा देखि मेडिकल सेवा सुबिधा सम्मको जानकारी अनिवार्यरुपमा दिनु पर्छ ।

बिदेसमा काम गर्न आउने भनेको पैसा कमाउन हो र जब भनेको जत्ति पैसा कमाउन सकिदैन त्यस पछी चरम निरासामा डुबेर मादक पदार्थ सेवन गर्ने देखि लिएर कम्पनि छोडेर ईलिगल हुने सम्मको स्थिति आउछ र यस्तो हुनुमा कामदारको अबुझ्पना अनि नेपालको मेनपावर देखि सरकारी निकाय सम्म दोषी हो भने यो पंक्तिकारको ठम्याई हो ।

केहि महिना अगाडीको यो घटनालाई आज प्रस्तुत गर्दैछु आसा छ बिदेस जानु हुने नेपाली दज्यूभाई तथा दिदि बैनिहरुले आफुले गर्ने कामको प्रकृति र सेवा सुबिधाको बारेमा राम्रो संग बुझेर मात्र बिदेस जाने प्रक्रिया मिलाउनु हुनेछ नबुझिकन हचुवाको तालमा बिदेस जाने गर्नु भो भने माथि उल्लेखित पात्र तपाइँ पनि बन्न सक्नु हुनेछ 
ई-जनता डटकाममा प्रकाशित

No comments: