Saturday, February 21, 2015

'सत्य के हो भनेर कसरि बुझाउ'

-जनक मान डंगोल/janakdangol@gmail.com
विभागीय अभिवादन गर्दै मेरो आत्मीय शिष्यले च्याटमा आएर सन्चो बिसन्चो सोधे । भलाकुसारी पस्चात मैले पदोन्नती भयो त भाई भनेर सोधेको जवाफमा २ बर्ष भयो भन्ने जवाफ दिए । कुरा अगाडी बढाउंदै 'पेन्सन पाक्न अब १ बर्ष बाँकी छ सर म पनि बिदेस लाग्नु पर्यो हजुर काम गर्ने मलेसिया तिर राम्रो जागिर पाईदैन' ? भनेर प्रश्न गरे । जवाफमा मैले यताको हालको स्थिति सम्झिँदै सक्नु हुन्छ भने मलेसिया नआउनुस भनेर सल्लाह दिए । मेरो सल्लाह सुन्नासाथ मुटुनै छेड्ने गरि ति शिष्यले च्याटमा 'हजुरले टन्न आफु कमाई हाल्नु भयो अब हामीलाई चैँ अब नआईज भनेर भन्नु हुन्छ हैन' भनेर जवाफ दिए ।

मेरो डिउटी जाने बेला भयो पछी कुरा गर्छु भनेर सम्बाद बन्द गरे । शिष्यको जवाफले मनै अमिलो भयो । सोच्ने र सम्झिने शक्ति नभएको भन्ने कुरा पनि भएन किनभने अहिलेको परिस्थितिमा नेपालमा ईमान्दार सरकारी कर्मचारीहरु लाई परिवार पाल्न धौ धौ छ भने उसको गुनासो पनि सहि हैन भनेर भन्न मिल्दैन ।

मैले किन मलेसिया नआउनु भनेर सल्लाह दिए त्यसलाई म आफुले भोगेको भोगाई र देखिएको सत्य अनुसार बुझाउने कोसिस गर्दछु । मेरो लेखाई पूर्ण सत्य होला नहोला त्यो मलेसिया बसेर भोग्ने नेपाली श्रमिकहरुले राम्रै संग बुझ्नु भएको छ भने नेपालमा बस्नेले अन्दाज गर्न सक्दैनन ।
पंक्तिकार पनि हिजो सरकारी सेवामा बहाल थियो । समय र परिस्थिति अनुसार हुर्किंदै गएको लालाबाला र बिरामी पत्नीको औषधि उपचारलाई धान्न नसकेर बाध्यताले सरकारी जागिरलाई तिलान्जली दिएर दुई चार पैसा जोगाउन सकिने आसले दक्षिण पुर्बी एसियाको औधिगिक रास्ट्र मलेसिया छिरेको हो ।

सन २००४ डिसेम्बरमा नेपालकै नाम चलेको बैसिक रोजगार सेवा दिने कम्पनी मार्फत मलेसिया बाट पठाईएको आधिकारिक श्रम करार पत्रमा दायाँ बायाँ रेखात्मक देखि लेखात्मक सहि छाप गरेर मलेसिया पसेको हाम्रो समुहलाई मलेसियाबाट नै प्रमाणित गरेर पठाएको सक्कल करार पत्रलाई बदर गरेर नेपालमा लेखिएको सेवा सुबिधाभन्दा ३५% भन्दा पनि कम दर रेटको सेवा सुबिधा बनाएर ठगि गरेको प्रत्यक्ष उदाहरणमा पंक्तिकार परेको थियो । अन्याय पर्यो भनेर नेपालको आधिकारिक कम्पनीलाई भन्दा हाम्रो माग हावामा बिलिन भएको पनि हिजै जस्तो लाग्छ । 

मलेसियामा सुरक्षा गार्ड लाई दिनमा १२ घण्टा अनिवार्य काम गर्नु पर्छ भने त्यो पस्चात पनि स्थानीय लोकल गार्डले डिउटी नलिएको अबस्थामा उक्त डिउटी समेत नेपाली सुरक्षा गार्डले खापेर गर्नु पर्ने हुन्छ । मलेसियाको कम्पनि मालिकहरुमा चिनिया समुदाय नागरिकहरुको सबै भन्दा बढी बर्चस्व कायम छ । चिनियाँहरुले पनि नेपाली हिन्दुहरुले आधा महिना दशैँ मानेकै जस्तै गरि आफ्नो ठुलो पर्व चिनियाँ नव बर्ष २ हप्ता सम्म मनाउछन भने त्यो बेलामा कुनै कुनै कम्पनिहरु हप्तौ हप्ता बन्द हुने भएकोले त्यस्तो बेलामा डिउटी गर्दिन भन्न पाईदैन । पंक्तिकारले सन २००६ मा १६ दिन ३० रात लगातार डिउटी गरेको अनुभव समेत संगालेको छ ।

काम गरे अनुसारको ज्याला दिएको भए पनि चित्त बुझाउने बाटो हुन्थ्यो तर अतिरिक्त डिउटी गरेको पुरा पैसा समेत दिदैन । पंक्तिकारको दैनिक ज्याला घण्टाको २ रिंगेट ५८ सेन थियो भने अतिरिक्त ओभरटाईम गर्नु पर्यो भने ८ घण्टा पछिको सबै घण्टाहरु ओभरटाईममा गणना हुन्छ । २/५८ लाइ दुईले भाग गर्दा १/२९ हुन्छ र त्यसलाई २/५८ मा जोड्दा ३/८७ हुन्छ भने १२ घण्टाको ४६/४४ हुन्छ । यहि ४६/४४ को दरले पाउनु पर्ने ज्याला १६ दिन गर्दा ८ दिनको दिएर ८ दिन गायब गरेको घटना पंक्तिकारले बिर्सेको छैन भने त्यो डिउटी गर्दाको समयमा निर्जन स्थानमा कति दिन रात भोकै प्यासी कर्तब्य निभाईयो त्यो पनि अहिले सम्म झल्झली आँखामा नाचेको छ । त्यसरी डिउटी गरेको भएर होला पंक्तिकारले निकै लामो समय ग्यास्ट्रिक रोग संग जुध्नु परेको थियो । समयमा औषधि नगरेको भए त्यो ग्यास्ट्रिक बिग्रेर अल्सर पनि हुन सक्थ्यो होला । 

यी माथिका घटना त यता मलेसियाको लागी सामान्य घटनाहरु हुन । उजुर बाजुर गर्ने भनेको नेपालको आधिकारिक कम्पनीलाई हो तर नेपालको कम्पनीहरु बाट न्याय पाउनु भनेको अन्यायमा परेको हरुको लागि सपना सरह नै हुन्छ भने सयमा सय नेपाली श्रमिकहरुलाई श्रम अदालत जानु पर्छ भन्ने नै थाहा छैन ।

सन २०१३ पछी मलेसियामा लेबी फ्री भनेर जुन हल्ला चलाईएको छ हाल आएर त्यो सयमा सय नै झुठो जस्तै भै सकेको छ । मलेसियामा अहिले प्राय सबै कम्पनीहरुले १५० देखि ३०६ रिंगेट सम्म लेबी काटेको बुझिएको छ भने 'मलेसियामा लेबी फ्री भनेको हैन' भन्ने बिषयमा पंक्तिकारले विभिन्न छापा तथा बिधुतिय पत्रिकामा लेख प्रकाशित गरेर सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गरेको छ ।
मलेसियामा साधारण मजदुरलाई ९०० रिंगेट सुरु तलब छ भने ओभरटाइम दिने नदिने भनेको 
कम्पनीको कामको प्रकृतिमा भर पर्छ । कम्पनि चलेको छ भने ओभरटाइम पाईन्छ र दैनिक ४ घण्टा ओभर टाइम गर्न पाईयो भने लेबी, बत्ति पानि, आदिको शुल्क मासिक २५० काटे पनि नेपालीहरुले १ हजार देखि १२ सय सम्म बचत गर्न सक्छन तर सुक्खा तलव ९०० मा लेबी २५० काट्यो र खाना खाजामा ३५० खर्च भयो माशिक ६०० खर्च हुन्छ भने मुस्किलले ३०० रिंगेट भन्दा बचाउन सकिन्न । ३०० रिंगेट भनेको आजको मुद्रा विनिमय दर नेरु २७/६० अनुसार नेरु ८२८०/०० हुन्छ । 

भन्ने बेलामा बिज्ञापनमा मेन पावर कम्पनिले ८० हजार भनेता पनि डेढ देखि २ लाख खर्च गरेर ३३ देखि ३५  डिग्रीको गर्मिमा पसिना चुहाएर ने.रु ८२८०/०० भन्दा बढी मासिक आम्दानि हुन्न भने अनेकौ दुख: कस्ट सहेर मलेसिया आउनुको कुनै अर्थ छ र ? 

मैले जुन तथ्यमा आधारित रहेर यो लेख प्रस्तुत गरे सयमा आधा भन्दा बढ्ता नेपाली श्रमिकहरुले भोग्दै आएको समस्या हो तर लेबी तथा अन्य सम्पूर्ण सुल्कहरु नलिने हो र दैनिक ३ घण्टा सम्म ओभरटाईम अनिवार्य दिने सर्त भयो भने मात्र मलेसियामा आएर श्रम गर्नेहरुको पसिना खेर जान्न तर अहिलेको यस्तै स्थिति रह्यो भने मलेसिया आएर पसिना चुहाउनुको कुनै अर्थ छैन ।

No comments: