Friday, October 31, 2014

'यु हामिल' (सत्य कथा)

कथाकार जनक मान डंगोल
असंख्य हुलहरु मध्ये दुब्लो पातलो सरिर ख्याउटे गाला भएको सुदुर पूर्वको सामान्य गाउँ बाट मिठो सपना बोकेर मलेसिया छिरेको नेपाली कामदार जसलाई सबैले केपी भनेर बोलाउने गर्थे ! प्राय आइतवार म दिनको ओटी समेत गर्न जान्थे त्यहि बेला तिनी सिट भेटघाट गफगाफ हुन्थ्यो ! पुरा नाम कृष्ण प्रसाद अनि जातिले क्षेत्री ति मित्रको आसाम तिर पनि प्रसस्त जग्गा जमिन छ रे ! नेपाल घर झापा भएता पनि भारतको आसामे पनि अनि दुवै तिर बसोबास ! 

नेपाल बसाई हुँदाहुँदै भाई साथीको लहलहैमा लागेर नेपाल प्रहरीमा भर्ना भएका रैछन ! माओबादी जनयुद्दको बेला तालिम सकिए पछी कार्यक्षेत्र पनि आफ्नै जिल्ला परेछ ! एक दिन रातको गस्तीमा दोहोरो भिडन्त भएछ ! भिडन्तमा आफ्नै गाउँको मान्छे जो माओबादी छापामार थिए तिनको पनि मृत्यु भएको रैछ ! रातिको अन्धकारमा को दुस्मन को मित्र !

गाउँमा हल्लीखल्ली भएछ ! केपीकै गोलि लागेर मृत्यु भएको भन्ने हल्ला फैलियोरे ! कर्तब्यपरायणमा खटेको हुन भन्ने हेक्का हुँदाहुँदै पनि बिना कारणको आरोप सहन नसकेर जागिर बाट भगौडा भएर मलेसिया हान्निएका रैछन केपी ! 

हप्ताको ६ दिन कामको भिड तर आईतवार बिदाको दिन केपी बिहान देखिनै मातेर हिड्ने ! आराम र फुर्सद हुना साथ हिजोको त्यो दोहोरो भिडन्तको घटना झल्झली सम्झिदा रैछन अनि भुल्ने कसरि भन्दा उही रक्सिको नसा ! 

एकै कारखानामा काम गर्दा रहंदा बस्दा इण्डोनेसियाको केटि 'याती' भन्ने सित जान पहिचान भयो ! जान पहिचान बिस्तारै माया प्रेममा बदलियो ! हुँदा हुँदा दुवै जना एक आर्काको सहारा बिना बाच्न नसक्ने सम्म भएछन ! याती केपीको रक्सि खाने बानि छुटाउन खोज्ने तर केपी छोडन नसक्ने ! यहि निहुँमा झगडा हुँदै धेरै पटक हातहालाहाल सम्मको स्थितिमा पुग्दा रैछन !

सदाझै आइतवार म केपीकै कम्पनिको नजिकको गेटमा डिउटी बसेको थिए ! केटि भाग्दै आई र केपीको साथिलाई च्याप्प समातेर भनिन 'आबांग तोलोंग साया, हारिनी पुन डिया माबु, तेंगो पुकुल साया, सिला तांकाप डिया' (दाई मलाई सहयोग गर्नुस, आज पनि मातेको छ, हेर्नुस मलाई कुटेको, कृपया समाउनुस उसलाई) !

'लोग्ने स्वास्नीको झगडा परालको आगो' भनेझै थियो तिनीहरुको पिरती पनि ! केपी नेपाल जान लाग्यो भनेर थाहा पाउना साथ २ पटक आत्महत्याको प्रयास सम्म गरेकी रैछे केटिले ! सम्झाई बुझाई गरेर थामथुम पारेका रैछन ! प्रेम अन्धो हुन्छ भनेको यस्तै भएर होला त्यहि भएर केपी नेपाल जान सकेन !

कारखानामा गाईगुई हल्ला भयो 'यातीले भुडी बोकिछे भनेर' ! कम्पनि मालिकको मा कुरा पुग्यो ! मालिकले कार्यालयमा बोलाए र सोधे 'यु हामिल ? ( तिमि गर्भवती हो ?) घोसेमुन्टो लाई जवाफ फर्काउन सकिन ! मालिकले कड्किये रिसाए र पुन: सोधे 'यु हामिल, जवाब !

फुंग उडेको अनुहार त्यहि माथि डरले निलोकालो भो, हो भनु कि हैन भनु ! वाक्य फुटेन, आँखा बाट बग्यो टप टप बलेसी र चुहियो मालिकको कार्पेटमा ! मालिकले सोधखोज गर्दा केपीको भन्ने जवाफ पाए ! मालिकले ब्यंग्य कस्दै भने 'बालेक काम्पुंग जागा आनाक गुर्खा' (गाउँ जा र गोर्खालीको बच्चा हेरेर बस अब) !

पहिलाको घटना बिर्सिन खोज्दाखोज्दै आर्को घाउ थपियो ! पैला १/२ क्वाटर ले चित्त बुझाउने मान्छे अहिले ठुलै बोतलका बोतल रित्याउने सम्म भयो ! नेपाल जान मन नगर्ने र उताकाले पनि हार मानेर माया मारेको जस्ता भै सकेको रैछ !

धेरै बर्षको अन्तरालमा एकदिन बजारमा भेटे केपीलाई ! चिन्न नसक्ने भै सकेको रैछ ! भला कुसारी भयो ! अँध्यारो मुख लाउदै भन्यो चाहेर पनि मैले यातीलाई विह गर्न सकिन सर ! हुन पनि हो मलेसियामा बिहा गर्न ठुलै पापड बेल्नु पर्छ त्यै माथि याती परि अर्कै देसको ! मैले भने जे हुनु भै हाल्यो भाई सम्हाल र सक्छौ भने नेपाल हैन आसाम जाउ ! 

एक दिन केपीकै काम गर्ने कम्पनीको साथि भेट भयो ! कुरे कुरामा मैले के छ केपीको हालखबर भाइ भनेर सोधे ! पुलुक्क मेरो मुखमा हेर्दै भन्यो सरलाई थाहा छैन ? मैले भने के कुरा ? उसले भन्यो अघिल्लो महिना केपीले आत्महत्या गर्यो नि ! समुन्द्र घुम्न जाउ भनेर गाको फिट्टू थियो ! नजा भन्दा भन्दै पौडी खेल्न पसेको मान्छे ! निस्किन सकेन वा निस्किन मानेन ! अवाक भए म झल्झली आयो आँखामा केपी र फुंग अनुहार उडेको याती ! 

(पात्रहरु काल्पनिक हुन कोहि कसैको जिबन संग मेल खाएमा संयोग मात्र हुनेछ)