Monday, October 27, 2014

कविता -- सुनकोशी र पहिरो

खांट्टी कुरा     October 27, 2014    

समा श्री
गिलो छातीमा छोडेका पदछाप
अब गिलो रहेनन्
चट्टान भएका छन्
कठोर अति कठोर भइसके
आँखा भने अझै गिला छन्
सप्को भिजाउँदै
जब नानीहरू अबोध प्रश्न गरिदिन्छन्
"बा खै ?" भनेर
आँशुको श्रोत चाहार्छु
तब कलेजी रेटिन्छ
अनि भेटछु
थुप्रै बिझाउने कुराहरू
आँखालाई धेरै कुराले बिझाउँदा रहेछन्...
शब्द त फूल भन्दा कोमल हुनुपर्ने
तर होइन रहेछ
कोमलता जिब्रोले मात्र सम्हाल्दो रहेछ
बचन त हृदय बेधने धारीला बाण रहेछन्
भित्रभित्रै पहिरो जान्छ
सेती खोँचझैँ
नसानसामा लावा बनेर
प्रश्न दगुरिदिन्छ
चट्टान हृदयबाट प्रवाहित रसले
आँखालाई गिला बनाउछन्
आँखालाई प्रश्नले पनि बिझाउँदो रहेछ

तिमीले के गर्‍यौ ?
गर्न हुने गर्‍यौ कि
गर्न नहुने गर्‍यौ ?
तिम्रो मृत्यु
अनेक उपमा र अलंकार युक्त छन्
मानिसहरू त्यसै भन्छन्
मृत्युलाई वरण गर्नु
के तिम्रो महानता हो ?
या प्राप्तिको लागि बलि ?
मलाई सोध्न मन लाग्छ
त्याग गरेर तिमीले के पायौ ?
त्याग गरेर तिमीले के दियौ ?
तिमी कहाँ छौ थाहा छैन
तर नानीहरूका प्रश्नको जवाफ दिन
यहाँ कोही छैन
यहाँ कोही पनि छैन
एकलासमा तिम्रो अनुपस्थिति
आँखालाई गिला बनाउछन्
आँखालाई अनुपस्थितिले पनि बिझाउँदो रहेछ

ओठलाई बलजफति जोडेर
शब्द नखस्ने बाँध बनाउन
दुष्कर हुँदो रहेछ
यहाँ त बाध्यताले
ओठ सिइदिएका छन्
भित्र गहिरो कालो गाढा मौनता
प्रतिपल जन्मिदैछ
मौनता अर्थहिन हुँदैन
मौनता निर्वल पनि हुँदैन
यो बडो निर्दयी हुन्छ
यो बडो जण्ड हुन्छ
दुष्परिणामको भयले
मेरो हृदय काँप्छ
म जबरजस्ती मौनतालाई सुस्केरामा बेह्रेर
फुस्स उडाइदिन्छु
माउ माकुरी बनेर
रक्षा गर्छु नानीहरूको
र उनीहरूलाई हेर्छु
प्रश्न गर्दागर्दा
उत्तर नपाएर निराश नानीहरू
आजकाल प्रश्न गर्दैनन्
कहिले एकटक भित्तातिर हेरिरहेका हुन्छन्
कहिले आकाश हेर्दै टोलाइरहेका हुन्छन्
थाकेर जब उनीहरू
मेरा आँखामा हेर्छन्
तब शून्यता
आँखालाई गिलो बनाउछ
आँखालाई शून्यताले पनि बिझाउँदो रहेछ

सुनकोशी
पहिरो नजाँदा पनि बगेको थियो
सुनकोशी
पहिरो गएपछि पनि बगिरहेकै छ ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .