एउटा राजाले उध्रेको, फाटेको
सिलाउने एकजना सूचिकार राखेको रहेछ । ऊ कपडा रफ्फू गर्नमा भन्दा पनि राजाका हरेक
कुरा रफ्फू गर्नमा माहिर रैछ, उसले राजाका हरेक कुरालाई यसरी
व्याख्या र विश्लेषण गर्दो रैछ कि सुन्ने मान्छेहरू मख्ख पर्दा रहेछन् ।
एकदिन राजाले एउटा सभामा आफ्नो जवानीको कहानी सुनाएर जनतालाई
मख्ख पार्न खोजेछ । जोशमा आएर राजाले भन्न थालेछ... "एकपल्ट म शिकार खेल्न
जाँदा यस्तो भयो कि मैले आधा किलोमीटर टाढाबाट तीर चलाएँ,
त्यो तीर गएर हरिणको देब्रे आँखामा लाग्यो र दाहिने कानबाट निस्किएर
पछाडिको दाहिने खुरमा गएर गाडियो ।"
राजाले सोंचेको थियो उसका कुरा सुनेर जनताहरूले ताली
बजाउनेछन् तर कसैले बजाएनन्, कसैले पनि उसका कुरा पत्याएनन् ।
राजालाई नि लागेछ कि... सायद आज उसले अलि बढी नै गफ दियो । त्यतिबेलै राजाले
सूचिकारतिर हेरेछ । सूचिकार फटाफट उठेर भन्न थालेछ, "मित्रहरू ! यो कुरा सही हो, त्यतिबेला म पनि
महाराजको साथमा थिएँ । वास्तवमा त्यतिबेला महाराज पहाडको टुप्पामा हुनुन्थ्यो र
हरिण पहाडमुन्तिर । हावा पनि जोड चलिरहेको थियो, नत्र
त्यति टाढा तीर जाँदैनथ्यो । जहाँसम्म आँखा, कान र खुरको
कुरा छ, संयोग भनौँ कि के भनौँ... ठीक त्यतिबेला हरिणले पछाडिको
दाहिने खुट्टा उठाएर दाहिने कान कन्याइरहेको थियो ।" यो कुरा सुनेपछि
जनताहरूले ताली पिट्न थालेछन् ।
भोलिपल्ट सूचिकार आफ्नो पोकोपुन्तरो बाँधेर जान लाग्दा
राजाले "कहाँ हिँडेको ?" भनेर सोधेछ । सूचिकारले भनेछ ~
"महाराज ! माफ गर्नुहोला । म सानोतिनो सूचिकार मात्र हूँ । उध्रेका,
फाटेका कपडाहरू मात्र रफ्फू गर्न सक्छु... ठूल्ठूला भ्वाङ टाल्न सक्दिनँ
।"
.......
यहाँ पनि केही सूचिकारहरू (ल****भक्त)
यस्तै छन्,
जो आफ्ना नेताका हरेक निर्णय र हावा गफहरूलाई रफ्फू गर्नमा माहिर
छन् । विपक्षका सही कुरालाई पनि गलत साबित गर्न र आफ्ना पक्षको गलत कुरालाई पनि
रफ्फू गर्न त कसैले यी ल****भक्तहरूबाट
सिकून् ।
उनीहरूसँग आरोपको जवाफ पनि 'आरोप' हुन्छ । सरकारले गलत निर्णय नै गरे पनि "गलत
हो" भन्दैनन् बरु उल्टै विपक्षको निर्णय हो भनिदिन्छन् । राम्रा कामहरूको
क्रेडिट आफूले लिने, उध्रेका फाटेका सिलाउने र ठूल्लाठूला
भ्वाङ परेपछि त्यसको दोष विपक्षलाई लगाउनेहरू नै असली चाटुकार (सूचिकार) हुन ।