Sunday, August 26, 2018

आफैले मन पर्याएर ल्याएको शासन पद्धतिको बिरोध किन ?

-जनकमान डंगोल 
२००७ सालमा जहानियाँ राणा शासनको अन्त्य पश्चात केहि शिक्षित तप्काका राणाजीहरु,  बुद्धिजिबी देखि साहु महाजनहरुको पहिलो रोजाईमा नेपाली कांग्रेस पार्टी परेको थियो र अझै पनि पुराना तप्काकाहरुको लागी कांग्रेस पार्टीनै प्यारो छ । कांग्रेस पार्टी पछी कम्युनिस्ट पार्टीमा लाग्नेहरु पनि छन तर बिचार नमिल्नासाथ फुटेर छुट्टै पार्टी र समुह गठन गर्ने गरेको कारणले गर्दा नेपालमा अहिले पनि बिचार र सिद्धान्तको राजिनितिमा कांग्रेस पार्टीनै अब्बल देखिएको छ ।
नेपालको कांग्रेस हुन या कम्युनिस्ट यी दुवै पार्टीको जन्म छिमेकी भारतमा नै भएको हो । नेपाली कांग्रेस पार्टीलाई भारतीय कांग्रेस पार्टी अनि नेपाल कम्युनिस्ट पार्टीलाई भारतीय कम्युनिस्ट पार्टीको साथ र सहयोग देखि हुबहु नक्कल सम्म गर्न छुट थियो भने राजनीतिक पार्टीको नामको अगाडी नेपाल राख्दैमा खाँटी नेपाली राजनीतिक पार्टीको कोटिमा कसरि उभ्याउनु ।
नामको अगाडी धन बहादुर राख्दैमा ब्यक्ति धनी हुन्न भने कानो व्यक्तिको नाम नेत्र बहादुर राख्दैमा उसले आँखा देख्न सक्दैन । नामको अगाडी वकिल मियाँ राख्दैमा न उ  वकिल हुन्छ त्यस्तै दरोगा सिंह राख्दैमा थानेदार अर्थात ईलाका पुलिसको हाकिम बन्न पाउछ भने छिमेकीलाई गुरु भेटि थापेर जन्मिएको राजनीतिक पार्टीहरुले देस र जनताको हितमा काम गर्छन भनेर कसरि पत्याउनु ।
कुरो गुरु भेटीको आयो । थपना राखेको गुरु खुसि पार्न एकजना धनुधारीले आफ्नै बुढी औंला काटेर दिएको मिथक कथा जस्तै छिमेकी गुरुले गुरु भेटीको नाउँमा खोलानाला देखि ब्यापार सम्मको एकाधिकार माग्दा कांग्रेस कम्युनिस्टको सरकारले दिएकै हुन । राणा शाही हटाउन सहयोग गरे बापत उत्तरी सिमानामा गुरुको सुरक्षा फौज हटाएको निहुँमा पंचायती देखि राजतन्त्र सम्म फालेकै हुन ।
'सास छउन्जेल आस' भन्ने नेपाली उखानलाई नेपाली जनताहरुले कसरि बिर्सन सक्छन तर उखानलाई उखानमा नै सिमित पार्दिने कला पार्टीका नेताहरु संग छ भने आस गर्ने बानि भने नेपाली जनताहरु संग छदैछ । नेपालमा नेताको फुर्को झुण्ड्याएर हिड्ना साथ उहिलेको राणाजिको खलकलाई जसरि सात खत माफी छ भने बाजे बराजुको पालाको राणा शासन र अहिलेको पुस्ताको पालाको गणतन्त्रे शासनमा के नै फरक छ र ।
केहि दिन देखि नेपालमा बलात्कार अनि बलात्कार पछिको हत्याको खबरले जनताहरु आन्दोलित भएका छन । आन्दोलन गर्न उक्साउनेहरु नेपालमा फाँसीको संजाये माग गर्दैछन । नेपालमा मृत्युदण्डको खारेजी माग्ने पनि अहिलेका पार्टीका नेताहरु हुन भने नेपालमा मृत्युदण्डको कानून नबनाउने भनेर अन्तर्राष्ट्रिय सन्धिमा ल्याप्चे समेत ठोकिसकेको छन ।
यस्ता कुराहरु बुझेर हुन या बुझ पचाएर हो नेपालका बुद्धिजिबी, देखि सिक्षित प्रबुद्ध बर्गहरु अझै पनि कांग्रेस र कम्युनिस्टको खेमामा बाँडिएर बस्न रुचाउछन भने नेपालमा हत्या हिँसा, बलात्कार देखि भ्रस्टाचारले जरो गाड्नु कुनै नयाँ र नौलो कुरो भएन । रास्ट्रको ढुकुटीमा जसरि हिजो राणाका खलकले रजाई गरेका हिये भने अहिले पार्टीकाहरुले रजाई गर्दैछन भने हिजो आफ्नै मर्जीले ल्याएको शासन पद्धतिको बिरुद्धमा सडकमा गएर बिरोध र ताण्डब नृत्य मच्चाउनुको के नै अर्थ भयो र ।