Sunday, April 30, 2017

बन्द भएको उधोग संचालन नगर्नेहरुलाई किन अमुल्य मत दिने

-जनक मान डंगोल 
१०४ बर्षे जहानियाँ शासनको उपमा पाएको राणा शासन बिरुद्ध क्रान्तिको बिगुल फुक्ने देसको जेठो पार्टी ‘प्रजा परिषद’ भएता पनि नेपाली जनताले ‘प्रजा परिषद’ लाई बिस्वास गरेको भए भारतमा बसेर राजनीतिक पार्टी गठन गर्दै अगाडी ‘नेपाल’ राखेर कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको जन्म पक्कै पनि हुदैन थियो होला ।

बिदेसमा जन्मेको भएर होला नामको अगाडी नेपाल राखेर जन्मिएको पार्टी कांग्रेस तथा कम्युनिस्ट देसको लागी कहिले पनि फाप भएन । यदि भै दिएको भए नेपाल यतिखेर बिस्वको १ नम्बरको देस पक्कै पनि हुन्थ्यो । नेपाल भन्दा पछाडि बिकासको बामे सरेको जापान जस्तो देसले आज नेपाललाई नै दान खैरात दिन्छ । हाम्रा शासकहरु जुवा हारेको पाण्डब जस्तरी शिर निहुर्याएर आर्काले दिएको खैरात थाप्न लाज मान्दैनन । त्यतिले पनि नपुगेर अझै याचनाको झोली फैलाउदै हिंडेको पनि बर्षौ बर्ष भै सक्यो ।

२००७ साल देखि आजको मिति सम्ममा आईपुग्दा धेरै पटक चुनाव भयो । पटक पटकको चुनावले नेता छाने र तिनै नेता प्रधान मन्त्रि देखि विभिन्न मन्त्रालयहरुको मन्त्रि पनि बने । बिकास गर्नु पर्छ भन्ने सोच कहिले पनि पालेनन । बिदेसी संग हात फैलाउनु भन्दा अन्य ठुला काम गरेको अभिलेखमा आज सम्म देखिएको छैन र  देखिन्न पनि ।

चुनाव आउछ र हरेक पटकको चुनावी घोषणा पत्रमा लाज सरम पचाएर पत्याउनै नसक्ने महा बाणी प्रस्तुत गर्न पछी पर्दैनन् । २०४६ सालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना पश्चात भएको २०४८ सालको चुनावी घोषणा पत्रमा लेखिएको त्यस्ता महाबाणीहरु सयमा आधा मात्र पुरा गरेको भए नेपालका युवाहरु बिदेसमा हली देखि पाले बस्न जान पर्दैन थियो । यो पंक्तिकारले पनि १० बर्ष बिदेसमा द्वारपालेको अनुभव राम्रैसंग संगालेको हुँदा मनको तितो कागजी भित्तामा पोख्न बाध्य भएको हो ।

दलविहीन पंचायतलाई निरङ्कुश र तानाशाहीको उपमा दिन आझ सम्म पछी नपर्ने कांग्रेस देखि कम्युनिस्टको सर्खारले पंचायती सर्खारको पालामा जे जति सर्खारी उधोग कलकारखाना जोडिए त्यस्ता उधोग तथा कलकारखानाहरु लाई निजीकरणको नाउँमा व्यक्तिको भेट चढाएको पनि देखिएकै हो । निजीकरण हुन नसकेको कल कारखानाहरु आज पनि उदारवादी पार्टीका नेताहरु आएर मर्मत सम्भार गरेर संचालन गर्देलाकी भन्ने आसमा बाँचेको पनि बर्षौ बर्ष  भै सकेको छ । त्यसरी आस गरेर बसेका उधोगहरु दिन प्रतिदिन जिर्ण हुँदै गएको देख्नेहरु थुप्रै नेता देखि तिनका कार्यकर्ताहरु नभएको पनि हैनन्  तर त्यस्ता उधोग तथा कलकारखानाहरुलाई संचालन गरेर नेपाली युवाहरुलाई रोजीरोटी कमाउनु दिनु पर्छ भनेर ईन्कलाबको नारा घन्काउने बहादुरहरु आज सम्म देखिएको छैन । पार्टीको नाउँ गरेर आफ्नो स्वार्थसिद्ध गर्ने असंख्य मजदुर नेताहरु छन तर ति बोल्दैनन । पार्टीका नेताहरुको ताबेदारिमा रमाएका त्यस्ता मजदुर नेताहरुले मजदुरको हक हित भनेर बन्द हड्ताल गर्ने देखि उधोगपति ब्यापारी संग चन्दाको नाउँमा कुस्त रकम भने असुल्न छाडेका छैनन् । बिस्वास लाग्दैन भने मे दिबसको नाउँमा बाँडिएको चन्दा पत्रहरुलाई हेर्नु भए हुन्छ ।

देसको नम्बर १ औधोगिक नगरी भनेर परिचय दिने मकवानपुर जिल्लाको हेटौडा उप-महानगर पालिकाको वार्ड नम्बर ८ हो र पंक्तिकारको स्थाही वासस्थान पनि सोहि वार्डमानै पर्दछ ।

चिनियाँहरु नेपालको असल तथा सहयोगी मित्ररास्ट्र हो र भारतले जस्तरी आज सम्म नेपाललाई  ‘म तिमीहरुको ठुल्दाई’ भनेर भनेको पनि सुनिएको छैन र सायद नभन्लान पनि ।  २०३२/३३ सालमा नेपालको बिकास होस् भनेर करोडौ करोड खर्चेर पंक्तिकारको बसेरा रहेको वार्ड नम्बर ८ मा हेटौडा कपडा उधोग बनाई दिएको थियो । हज्जारौ हजारले रोजगारी पाएका थिए ।

नेपालमा २०४६ सालमा फेरि प्रजातन्त्रको आगमन भयो । प्रजातन्त्रको आगमन पश्चात युद्धस्तरमा बिकास तथा निर्माणको काम सुरु हुनु पर्नेमा बिकासको बदलामा बिनासको काम सुरु भएको देखियो । बिनासको चपेटामा हेटौडाको कपडा उधोग पनि अछुतो रहन सकेन ।

नेपालमा चुनाव धेरै पटक भयो र यो पटक पनि हुँदैछ । देसमा प्रजातन्त्र हामीले ल्याएको हो भनेर फुई लाउने नेपाली कांग्रेसले प्रत्येक बर्ष ५ लाख युवाहरुलाई रोजगारी दिन्छु भनेर आफ्नो चुनावी घोषणा पत्रमा नै राखेको छ भन्ने सुनिन आएको छ ।

सरकारी कलकारखाना कौडीको भाउमा बेचेर आफ्ना कार्यकर्ता पोस्ने कांग्रेस र त्यसलाई मौन समर्थन जनाउने नेपालका ठुला एकतारे लाल मार्काधारी कम्युनिस्ट पार्टीहरुले नेपाली कांग्रेसको घोषणा पत्रमा लेखिएको वाक्यलाई पुरा गर्नमा समर्थन मात्र दिने हो भने पनि देशभर बन्द रहेको थुप्रै उधोग तथा कलकारखानाहरु फेरी पनि खुल्न सक्छन । यदि कांग्रेसले फटाहा कुरा गरेर जनता झुक्याउन खोज्छन भने बन्द भएको ठुला उधोग संचालन गर्नु पर्छ भनेर ईन्कलाबी नारा घन्काउनचै  किन सक्दैनन् ।

बिकास जो जसले गरे पनि हुन्छ । नेपालको जनतालाई अहिले चाहिएको प्रमुख माग भनेको गाँस, बास, कपास र ओखती हो । चुनावी घोषणा पत्रमा लेखिएको शब्दलाई पुरा गराउने हो भने बन्द भएका सम्पूर्ण उधोग क्ल कारखाना तुरुन्त संचालन गरेर देखाउन सक्नु पर्छ । यदि सक्दैनन् भने हावादारी कुरा गरेर जनता जनतालाई झुक्याउनुको के नै अर्थ भयो र ।

यो पंक्तिकारको लेखाई निम जस्तै छ । कम्युनिस्ट पार्टीमा लाग्नेहरुले जस्तरी गुलियो र चिप्लो भाकामा लेख्न र बोल्न जानेको छैन तर देखिएको सत्य र साँचो कुरा सबैलाई बताउनु लेखकको धर्म भनेर भन्ने गरिन्छ त्यसैले जस्तो देखाई त्यस्तै लेखाई भन्ने मुलमन्त्रलाई अखबारी पानामा राखी दिएको छु । ग्रहण गर्ने नगर्ने आदरणीय पाठकहरुको जो बिचार ।

(यो लेख लेखकको निजि बिचार हुन) 
प्रदेस रास्ट्रिय दैनिक हेटौडाको मिति २०७४ बैशाख १७ गतेको अंकमा प्रकाशित