Monday, December 15, 2014

कविता: सिपाहीको स्वास्नी ।

समाश्री 
बाहिरी परतमा बसन्त
पालुवा लागेका फूल फुलेका
यौवन
लहलहाउँदो
तर संगिना
केलाएर हेर त
मेरो बसन्तको पतझड पक्ष
आँखा दृष्य देख्छ दुविधा देख्दैन
आँखा भाव देख्छ भावना देख्दैन
परिधान भित्रको कोढ
ऊ आए पनि चहर्याउँछ
ऊ गए पनि चहर्याउँछ
आउँदा फर्कने डर हुन्छ
फर्कदा नफर्कने त्राश हुन्छ
अधमरो बचाई भित्र
संगिना
कहाँ देखिस
बाँचेको
सिपाहीको स्वास्नी
पक्ष पक्षमा
गलित हुने बिगलित हुने चन्द्र झैं
हृदयको अवस्थामा
पूर्ण चन्द्रको मादक रश्मी
आँगनभरि फैलीदा पनि
कामोद्दीपन बढेनन्
कहिले
झ्याउँकिरीका निरर्थक व्यञ्जनाले
कामाध बनाउँछ
व्यतिरेक भावहरुमा
आफै जल्छु
आफैलाई छल्छु
रुन्चे हाँसो भित्र
संगिना
कहाँ देखिस
हाँसेकी
सिपाहीको स्वास्नी
नियती
ज्यानको बाजी थापेर
रगत बेच्न बाध्य छ
सिउँदो
सिन्दूरले लामै पुरे पनि
मुटु
स्पन्दनसंगै काँप्दछ
सत्रुलाई लच्छिनको एक क्षण आवश्यक
उस्लाई
लच्छिनको बाह्रैमासको खाँचो
भयले प्राण सँधै
किल्कीलेमा आएर नाँच्छ
संगिना
कहाँ देखिस नाचेकी
सिपाहीको स्वास्नी
सिपाहीको स्वास्नी पेन्सनपट्टामा अल्झन्छे
सिपाहीको स्वास्नी वीर पदकमा झुण्डिन्छे
पल पल युद्धरत सिपाहीको स्वास्नी
हजारौं दंश सहेर
हजारौं घाउ पुरेर
कुनै युद्ध जित्दिन, कहिल्यै जित्दिन ||