कांग्रेस २००४ साल तथा कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भएको हो । दुवै पार्टीहरुको स्थापना भने नेपालमा नभएर छिमेकी भारतमा भएको थियो भनेर ईतिहासमा लेखिएको छ । दुवै पार्टी स्थापना गरिनुको मुख्य उद्धेश्य नेपालमा स्थापाना भएको जहानियाँ शासनको जरै देखि उखेलेर फ्याँकी राजा सहितको प्रजातन्त्र स्थापना गर्नु थियो ।
२००७ सालमा नेपालमा १०४ बर्षे जहानियाँ राणा शासनको बिरुद्धमा युद्धको शंखघोष कांग्रेस पार्टीले गरेको थियो । आजको दिन सम्म पनि कांग्रेस पार्टीले नेपालमा प्रजातन्त्रको स्थापना हामीले गरेका हौ भनेर भन्न छाडेका छैनन र जुन देसमा बसेर पार्टी जन्माए तिनैको सहयोगमा प्रजातन्त्र स्थापना गरे बापत मस्तीको तर समेत दुबैले मार्दैछन ।
अमेरिकी साम्राज्यबाद – मुर्दाबाद ।
भारतीय बिस्तारबाद – मुर्दाबाद ।
नेपालका कम्युनिस्टहरुले जनताको अगाडी गएर घोक्रो सुक्ने गरि लाउने नारा २०६४ साल पछी स्यालको सिंग जस्तै गरि बिलाएर गएको छ । कम्युनिस्ट पार्टीमा लाग्नेहरु आफ्नो प्रशंसा मात्र सुन्न चाहन्छन । आलोचना गर्ने बिरुद्ध सके सफाया नसके छुट्टै पार्टी खोलेर आफै सर्वेसर्वा बन्छन । आर्यघाट नपुगे सम्म पद छोडदैनन । नेपालमा हुन या अन्य देशमा देखिएको नतिजा हो ।
कम्युनिस्ट पार्टीमा लाग्नेहरु गुटबन्दीमा लाग्न रमाउछन । आफ्नै संस्थापक नेतालाई गद्धारको तक्मा भिराउन बेर मान्दैनन । गद्धार पुष्पलाल भनेर किताब समेत प्रकाशित भएकै हो ।
नेपालमा २००६ देखि आजको मिति सम्ममा के कति कम्युनिस्ट पार्टी खोलियो भन्ने कुनै लिखित दस्ताबेज संग्रह गरेर राखेको पाईदैन । लिखित दस्ताबेज जम्मा गर्दा गर्दै आर्को गुट वा पार्टी जन्मी सकेको हुन्छ भने कुनैको अस्तित्व नै मेटी सकेको हुन्छ ।
बडो ठुलो उत्साह र उमंग लिएर एमाले र माओबादी पार्टीको मिलन भयो । चुनाव नजितुन्जेल सम्म यी पार्टी र तिनका नेता देखि कार्यकर्ताको फुर्ति गज्जब र अचम्मकै थियो । जब चुनाबी नतिजाले दुई तिहाईको सिट प्राप्त हुनासाथ सत्ता र भत्ताको लोभमा एकले आर्कालाई खुईल्याउने, उचाल्ने र पछार्नेको काम आजको मिति सम्म जारीनै छ । पार्टीको खाँट्टी आस्थावान कार्यकर्ताहरु गुट उपगुटमा बाडिन बाध्य भएका छन । आफ्नै नेताहरुले गरेको गलत कामको बिरुद्धमा चोर औंला देखाउन सक्दैन । सामाजिक संजाल देखि पत्र पत्रिकामा छापिएको भ्रस्टाचार एकले आर्कोलाई खुईल्याउने माध्यम बनेको छ । राणाकालको ताबेदारी र चाटुकारिता पुन ब्युंतिनु पनि ठुलै उपलब्धि ठानेका छन ।
कम्युनिस्ट पार्टीको गुट उपगुट जन्माउने कला अहिले आएर कांग्रेसले पनि सिकेका छन । प्रजातन्त्र बेचि खाए । बाँकी रहेको रास्ट्रियता र समाजबादलाई पनि चटक्क बिर्सदै गुटको राजनीतिमा रमाएको देख्दा खाँट्टी कांग्रेसीहरुको मन कति छिया छिया भएको होलान ।
धेरै टाढाको उदाहरण के दिनु । पंक्तिकारको जन्मथलो नुवाकोटका कांग्रेसीहरु दुई गुटमा विभाजन भएर एकले आर्कालाई खुईल्याउन कुनै कसर बाँकी छाडेका छैनन । कांग्रेस पार्टीमा अहिले पार्टी सभापति शेर बहादुर देउवाको बर्चस्व कायम छ । पुराना केहि थान नेताहरु रामचन्द्र पौडेल खेमामा लागेका छन । देउवा र पौडेल पछी कृष्ण प्रसाद सिटौला गुट पनि राम्रै संग मौलाएको देख्न पाईन्छ । कुनै पदमा नहुँदा पनि प्रस्तावक बनेर नेपालमा गणतन्त्र स्थापना गर्ने पनि तिनै सिटौला थिए । सक्कली कांग्रेसीहरु अझै पनि स्व.बि.पी., गणेशमान र भटराईकै मार्गमा हिडन चहान्छन तर नचाहँदा नचाहँदै पनि जय नेपाल भन्दै कुनै गुट रोज्न बाध्य पारिएका छन ।
मिति: २०७७/०४/३१ गते लोकप्रिय डिजिटल पत्रिका नयाँ पत्रिकामा पौडेल पक्षको निरन्तर विरोध, देउवा अगाडि बढेकोबढ्यै शिर्षकमा रमेस सापकोटाको लेख प्रकाशित भयो । समाचारको पहिलो हरफमा नै दुई गुटमा बाँडिएको नुवाकोटे कांग्रेसी हस्तीहरुको भनाई समेटिएको थियो ।
‘सभापतिले धेरै अघिदेखि विभागमा नाम पठाउन पार्टी नेतालाई आग्रह गर्दै आउनुभएको छ । तर, उहाँहरूले नाम पठाउन कहिल्यै पनि चासो दिनुभएन । सहमतिमा गरौँ भनेर लामो समयसम्म कुर्नुभयो । तर, नाम नपठाएपछि विभाग गठन गरी पार्टीलाई चलायमान गर्न लाग्नुभएको हो ।’ -डा. प्रकाशरण महत
‘सभापतिजी चार वर्ष चुपचाप बस्नुभयो, तर महाधिवेशनको वर्ष लागेपछि उहाँलाई विभाग गठन गर्ने, संगठनका अरू विवादित काम गर्ने जोस चल्यो । विधि–विधान र पद्धतिले नदिने काम गरेर उहाँले निष्पक्ष, स्वतन्त्र महाधिवेशन हुनेमा प्रश्न उठाइदिनुभयो । हाम्रो आपत्ति यसैमा हो ।’ -अर्जुननरसिंह केसी
देश जोड्ने बडामहाराजधिराजले उतिबेला आफ्ना सन्तान देखि भाई भारदारहरु लाई दिएको अर्ति र उपदेसलाई ‘दिब्योपदेस’ भनेर भन्ने चलन छ । भाई फुटे गँवार लुटे त्यसै मध्येको यौटा प्रख्यात उपदेस हो ।
राणाको शासनकालमा राणाहरुले जनताको शोषण गरे पनि रास्ट्रको मामिलामा कोहि कसै संग लेनदेन गरेको देखिदैन । बरु अंग्रेजसंग लडाईमा हारेको भूमिहरु मध्ये केहि भाग फिर्ता ल्याएका थिए ।
राणाकै आफ्ना भाई भतिजाहरुको फुटको कारणले गर्दा राणा शासन पतन हुनुको कारण मध्येको एक पनि थियो । उदाहरणको सुबर्ण सम्सेरको ईतिहास खोतलेर हेरे पुग्छ । काँग्रेसले सुबर्ण समसेरलाई प्रयोग नगरेको भए सजिलै प्रजातन्त्र स्थापना हुन सक्दैन थियो ।
नेपालमा दोश्रो पटक २०४६ सालमा प्रजातन्त्र स्थापना भएको ४ बर्ष नपुग्दै नेपाली कांग्रेस पार्टीमा सुरु भएको छत्तीसे र चौहत्तरे गुटले गर्दा थला परेको नेपालि कांग्रेस पार्टी अहिले सम्म तंग्रिन सकेको छैन । बिगतका गल्तीबात पाठ सिक्नु कता हो कता अहिले पनि देउवा गुट, पौडेल गुट र सिटौला गुट बन्छन भने पछिका पुस्ताहरुले नेपालमा कांग्रेस पार्टी पनि थियो र भन्दै गुगलमा खोज्नु पर्ने स्थित नआउला भन्न सकिन्न ।
प्रकाशित मिति: २०७७/०४/३१ शनिवार
0 Comments:
Post a Comment