-जनकमान डङ्गोल
माग्ने अर्थात मगन्ते भन्नाले आफ्नो जीवन धान्न वा बाच्नको लागि अर्काको घर दैलो दैलोमा चाहर्दै याचनाको साथ भिख मागेर गुजारा चलाउने व्यक्तिलाई भनिन्छ । मगन्तेको कुनै घर वा बासस्थान को साथसाथै पहिचानपनि हुँदैन ।
हाम्रो देशमा बितेका केहि बर्षहरु देखि छुट्टै किसिमको मगन्ते देखिन थालेको छ । बासस्थान छैन भनौ भने महलमा बस्छन । महलमा बस्नेले खाने चौरासीव्यंजन हो भने लगाउने पोसाकको त झन् के कुरा गराई भो । महलमा बसी सके पछी पाउकस्ट गर्ने कुरा पनि भएन । यस्ता आधुनिक विकासे मगन्तेलाइ नेपालको जनताले राजनीतिक पार्टीको नेता देखि तिनका नजिकका कार्यकर्ता भनेर चिन्ने र जान्ने गरेका छन ।
यी राजनीतिक मगन्तेहरु पनि बडो उल्का र अचम्मका हुन्छन । यिनले माग्ने भिखको तौरतरिका छुट्टै हुन्छ । पहिलो चरणमा प्रेमीले प्रेमिकालाइ पठाउने पिरिम पत्र जस्तै गरि पार्टीको निला, राता, हरिया, पहेला आदि इत्यादि रंगको कागजमा कम्प्युटरे टाइपमा अति कलात्मक बुट्टा खिपेर चिट्ठी पत्र प्रदान गरिन्छ । पेट बोलीमा ‘देस र जनताको आमुल परिवर्तनको लागी यहाँको तर्फ बाट सानो सहयोगकोअपेक्षा गरेका छौ’। त्यो सानो भनिएको याचनाको रकम कम्तिमा लाख देखि करोड सम्मका हुन्छन ।
भीख आए ठिकै छ । यदि नआए दोश्रो चरणमा आदेशको पालना किन भएन भनेर तरताकेता गरिन्छ । ‘ज्यु रहेपो खान पाइन्छ घ्यु’ भन्दै पैसोवाल दाताले हजुरको हुकुम सर आँखो पर माइबाप हजुर । श्रीमानको जो निगाहा । गरिबको दैलामा सहयोग लिन सवारी होस भनेर खबर पठाउछन । साँच्चिकै मगन्ते पाउकस्ट गर्छन भनेराजनीतिक भिखारी जापानमा बन्या प्राडो देखि घटिमा छिमेकमा बन्या बोलेरोको यात्रा गरेर भिख थाप्न जान्छन ।
यस्तै गरि भिख बटुलेर हिजोका ति भिखारीहरू घटीमा पनि बायुपंखी घोडा चढ्ने भै सकेका छन भने तिन्का घांटीबाट कास्मिरी बासमती भन्दा अरु छिर्न छोडी सकेको छ । हाच्छ्यु मात्र आयो भने पनि लौ स्वास्थ्य गडबडी भो भन्दै आकासे एम्बुलेन्स बोलाएर उपचारको नाउँमा हनुमाने फौज लिएर गएको पनि देखिएकै हो ।
चिनिधेरै खायो भने तितो हुन्छ भन्ने उखानलाई अङ्गीकार गर्दै एकैनासको कार्य गर्दा बोरिंग फिल हुन्च्चरे भनेर मगन्तेहरुले आजकल भिख माग्ने नयाँ तरिकाको आविस्कार गरेका छन । जसरि सर्खारले ठेक्दारको वा उधोगपतिको काम र दामको आधारमा बिदेसिको भाखा भन्ने क्याटेगरी नामको बर्गिकरण गरेको हुन्छ त्यस्तै गरि राजनीतिक भिखारीहरूले पनि क, ख, ग, घ गरेर चन्दा नामको भिखको बर्गिकरण गरेका छन । अब कुन कुन दाता कुन कुन श्रेणीमा पर्छन त्यो समेत बुझ्ने र बुझाउने सम्मको काम कार्य भै सकेको छ ।
बेपार ब्यबसाय गर्ने लाइ बेपारीभन्छन र यी बेपारिको मनमा हरि हुन्न । जहाँबाट जता बाट सुकर्म/कुकर्म गरेर भए पनि पैसो भने कमिनु पर्यो । हातमा कचौरा लिएर दैलामा आउने खाँट्टी मगन्ते देखि देखि लिएर प्राडो, पजेरो र बोलेरो लिएर आउने सम्मलाइ यिनीहरुले असर्फी बर्साउने गर्छन,
तर,
बिदेसी माईबापको कृपाले पाएको प्रजातन्त्र देखि गणतन्त्रसम्म आइपुग्दा बेपारी देखि ठेकेदारहरु पनि धेरै परिवर्तन भै सकेका छन । हिजो पन्चेको पालामा दैलोमा उभिएर कचौरा हल्लौनेलाई सुका मोहोर दिन्थे । तिन्का सच्चा हृदय देखि दिएको अशिख लागेर बेपार ब्यबसायमा मनग्गे कमाउथे । आफ्ना कामदारलाई कुस्त बोनस दिन्थे र धार्मिकदेखि सामाजिक कार्यमा समेत उत्तिकै दत्तचित्तले लाग्थे ।
समयले पल्टा खायो । अहिले त्यस्तो छैन । कर्मचारीलाई बाड्ने बोनस देखि लिएर धार्मीक तथा सामाजिक कार्यमा खर्चिने दाङ दातब्यको लागी भनेर छुट्याईएको ति पैसो राजनीतिक भिखारीहरू लाइ दिंदैमा फुर्सद छैन । सायद यसैलाई भनिन्च्च क्यार ‘गाइ मारेर गधा पोस्ने’ !
प्रकाशित मिति: २०७७ भाद्र ०५ गते शुक्रवार
0 Comments:
Post a Comment