Home » » यो लोकतन्त्र हो कि लुटतन्त्र ?

यो लोकतन्त्र हो कि लुटतन्त्र ?

Written By खांट्टी कुरा on Wednesday, June 29, 2016 | June 29, 2016

-सिनेट श्रेष्ठ, सुनसरी


-सिनेट श्रेष्ठ
लुटतन्त्रलाई लोकतन्त्र र गणतन्त्र भनेर जनता लुट्ने अनि राज्यकोषको ढुकुटी रित्याउने ब्वाँसाहरु नेपालमा दल खोलेर राजनीतिक व्यापार गर्दैछन् ।
छिटो पैसा कुम्ल्याएर धनि बन्ने अनि गरिबलाई सोषण गर्ने नियत राखेका सिमित व्यक्तिहरुको औजार बनेका छन् नेपालका दलहरु ।
हामी नेपाली दलमा यसरी बिलिप्त भयौँ कि, लाग्छ राष्ट्र नै भुलिसक्यौँ । आ-आफनो दलको झण्डा बोक्दा बोक्दै राष्ट्रिय झण्डा उठाउनै भुलिसक्यौ । गरिबको हातमा दलको झण्डा थमाएर प्रजातन्त्रको मन्त्र जप्न लगाउने अनि आफुले धनमाथि धनको रास थुपार्ने नेताहरुको गुलाम बनिरहेका छौं हामि नेपाली ।  अहिले आएर प्रजातन्त्र (लोकतन्त्र) केवल शब्दमा सिमित भएको छ । दल र नेताहरु शक्ति र पैसाको निमित्त जेजस्तो गर्न पनि पछि परेका छैनन् । के जनताको निमित्त अनि वास्तविक प्रजातन्त्र (लोकतन्त्र) को निमित्त लड्ने समय भएन र ? वर्तमान समयमा जनतालाई आधारभूत प्रजातन्त्र (लोकतन्त्र) पनि दिईएको छैन ।
के हामीले स्वच्छ र धाँधली रहित निर्वाचन उपयोग गर्न पाएका छौं त ?
सबै कुरा दल र तिनका नेताहरुको कपटपूर्ण प्रायोजनमा हुँदैछ । प्रजातन्त्र मा जुन दल शक्तिमा आए पनि प्रहरी र प्रशासन तटस्थ र जनमैत्री हुनु पर्दछ । तर त्यहाँ पनि कपटपुर्ण प्रायोजनको साथमा दल र नेताहरुको संलग्नता छ ।

प्रजातन्त्र मा न्यायक्षेत्र धनी गरिव आदि कुनै पनि भेदभावमुक्त भएर समान र निष्पक्ष हुनु पर्ने हो । तर त्यहाँ पनि दल र नेताहरुको आफ्नो राजनैतिक आधारभूमि बनाउने कुत्सित चाल छ ।
प्रजातन्त्रमा विकास कार्य जनताको आवश्यकता अनुसार स्वच्छ तवरले हुनुपर्ने हो । तर त्यहाँ पनि हामी दल र नेताहरुको स्वार्थको आधारमा भएको पाँउदैछौ । सुन्दा आकर्षक शब्द प्रजातन्त्र वा लोकतन्त्र भनेर फैलाइयेको छ, तर व्यवहार भने भ्रस्टातन्त्र छ । नेता र तिनका आसेपासेले लुटतन्त्र मच्चाउँदा हामि जनता भने त्यसैलाई प्रजातन्त्र हो भनेर बस्न विवस छौँ ।

यी तथाकथित नेताहरु मुलुकलाई २१ औँ शताव्दिमा लैजाने कुरा गर्दैछन्, तर के उनीहरु भन्न सक्छन कुनचाहिं बिकशित राष्ट्रमा विद्यार्थी, चिकित्सक, श्रमिक, वकिल, शिक्षक आदि राजनीतिमा संलग्न भएका छन् ?
नेपालमा छन्, आखिर किन ? केवल पद, पैसा र शक्तिको लोभमा ।

यस्तो लाग्छ नेताहरु नेपाल र नेपालीलाई चिन्दैनन् । केही नेपालीहरु १६ औँ शताव्दिमा, कोही १७ औँ, १८ औँ र केही १९ औँ शताव्दिमा बाँचीरहेका छन् । उनिहरुलाई माथि उठाउने कार्यक्रमको बदलमा हाम्रा नेताहरु जनतालाई जाती, क्षेत्र, प्रान्त आदिमा विभाजन गर्दैछन् ।
किन ?  
केवल भोटको निमित्त, शक्ति र पैसाको निमित्त ?
यस्ता नेपाल र नेपाली नचिन्ने नेताहरुले मुलुक बनाउछन् भन्ने आशा राख्ने ?

के अब झण्डै ३० बर्षको दलिय शासनको मुल्यांकन गर्ने वेला भएन र ?
हरेक घर परिवारले प्रत्येक दिन भोग्नु परेका समस्याको विरुद्ध लड्ने समय भएन र ?
हरेक सरकारी कार्यालयमा जनताले खानुपरेको हण्डरको विरुद्ध लड्ने समय आएन र ?

भ्रष्टाचारको विरुद्ध, शान्तिपूर्ण बिकशित र सुन्दर नेपालको निमित्त लड्ने वेला भएन र ?
हाम्रा सन्ततिको निमित्त कस्तो नेपाल छोड्ने भन्ने चिन्तन गर्ने वेला भएन र ?
साँचो प्रजातन्त्र(लोकतन्त्र)को निमित्त लड्ने समय आईसकेन र ? निश्चयपनि आयो ।

त्यसैले आउनुस केही समयको निमित्त दलको झण्डा विसाऔँ, दलिय राजनीति भन्दा माथि उठौँ । एकपटक हामी सबै राष्ट्रिय झण्डा मुनी आउँ । एक पटक राष्ट्रिय झण्डा उठाऔं ।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger