Monday, January 19, 2015

'धर्मको अपमान नगर'


-जनकमान डंगोल 
जनवरी ७ तारिखमा जर्मनीको फ्रांसीसी पत्रिका शार्ली एब्डोको फ्रान्सस्थित कार्यालयमा ईस्लाम धर्मको अपमान गर्दै व्यङ्ग्य पत्रिका शार्ली येब्ड़ोले कार्टुन प्रकाशित गरे । कार्टुनले ईस्लाम धर्मको खिल्ली उडाएको भन्दै व्यंग्य पत्रिकामा कट्टरपन्थी ईस्लामिक बन्दुकधारीबाट आक्रमण हुँदा पत्रिकाको मुख्य सम्पादकसहित १२ जनाले ज्यान गुमाउनु पर्यो ।
पत्रिकाको कार्यालयमा आक्रमण भएको विषयलाई लिएर लाखौँलाखले सहानुभूतिका साथ मृतकमा श्रद्धान्जलिको साथ समवेदना प्रकट गर्दै आतंककारीविरुद्धसाथ छौँ भनेर समर्थन पनि दिए । ईसाई धर्मालम्बीहरुको सबै भन्दा मान्यवर व्यक्ति भनेको प्रमुख धर्मगुरु पोप हुन । पोपलाई समेत  फ्रान्सेली व्यंग्य पत्रिका शार्ली येब्ड़ोले ईस्लाम धर्मको अपमान गरेको मन परेको थिएन तर शोकको घडीमा वक्तव्य दिंदा ईसाई धर्मका अनुयायीको मनमा चोट पर्ला भनेर पोप चुप लागेर बस्न विवश र बाध्य थिए ।
जनवरी १५ तारिखको दिनमा ईसाई धर्मगुरु पोप फिलिपिन्सको राजधानी मनिला भ्रमणमा निस्के । मनिला भ्रमण दौरानमा पोपले कुनै पनि धर्मको अपमान गर्नु हुन्न र फ्रान्सेली पत्रिका शार्ली येब्ड़ोले ईस्लाम धर्मविरुद्ध प्रकाशितत गरेको कार्टुन जायज हैन भनेर पत्रकारलाई बताए ।ईस्लाम धर्मको अपमान गरेको भनेर अपमानको बदला लिने भन्दै पत्रिकाको कार्यालयमा दिनदहाडै बन्दुकधारीबाट आक्रमण भएको घटना सेलाउन नपाउँदै पुनस् पैगम्बर मोहम्मदको अपमान गर्दै कार्टुन प्रकाशित गरे । त्यसविरुद्ध २०१५ जनवरी १६ तारिखमा पाकिस्तानमा प्रदर्शन सुरु भइसकेको छ । किनियामा विरोधमा चर्च जलाउन सुरु गरिसके भने भोलि अन्य देशमा विध्वंसको घटना पनि नहोला भन्न सकिन्न ।
कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा राखे पनि जस्ताको तस्तै भन्ने भनाईलाई आज आएर शार्ली येब्ड़ो व्यङ्ग्य पत्रिकाले पुनस् चरितार्थ गरेर देखाएको छ । पश्चिमा हेपाहा हुन्छन र आफ्नो धर्मबाहेक अरु सबै धर्मलाई सैतान देख्छन । अभिव्यक्तिको स्वतन्त्रताको नाउँमा यस्ता गलत हर्कत पटकपटक दोहर्याउनु त्यसैको प्रतिफल हो । पत्रकारिता भनेको स्वतन्त्र पेसा हो । लोकतान्त्रिक मुलुकमा व्यक्तिलाई अभिव्यक्तिको स्वतन्त्रता छ । अभिव्यक्तिको स्वतन्त्रता छ भन्दैमा करोडौँले मानेको ईश्रको अपमान गर्नु जायज हैन । अभिव्यक्तिको स्वतन्त्रता भन्दै उन्मत्त साँढे बनेर जे मन लाग्यो त्यही लेख्ने, बोल्ने र छाप्ने हो भने त्यस्ता पत्रकारिता अन्य धर्मका जनताको लागि पाच्य हुन सक्दैन ।
ईसाई धर्मगुरु पोपले ठिकै भनेका छन र व्यङ्ग्य चित्र प्रकाशित गर्ने शार्ली येब्ड़ो पत्रिकाको समूह जानाजानी संसारमा धार्मिक बितण्डा फैलाउदै छन् भने त्यस्ता पत्रिका निकाल्ने समूहमाथि कडा कारबाही हुनु पर्दछ । किनभने अभिव्यक्तिको स्वतन्त्रताको हवाला दिँदै जानाजानी कुनै पनि धर्मको अपमान गर्न पाईदैन । पंक्तिकार कुनै पनि अतिवादी, धार्मिक कट्टरपन्थीको समर्थक हैन तर साम्प्रदायिक सद्भाव खल्बल्याउने यस्ता पत्रिका र ती पत्रिकामा संलग्न पत्रकारको गलत हर्कतलाई सही हो भनेर कदापी भन्न सकिन्न ।