Home » » अब संसद बैठक रोकिदैन

अब संसद बैठक रोकिदैन

Written By खांट्टी कुरा on Monday, January 02, 2017 | January 02, 2017



पौष १८ गते, काठमान्डौ: तीन दिनभित्र अवरुद्ध संसद संचालन गर्नेबारेमा सहमति गर्न दलहरुलाई समय दिएकी सभामुख ओनसरी घर्तीले सोमबार बैठक शुरु हुने समयसम्म सहमति नभए प्रकृया अघि बढाउने बताएकी छन्।
उनले सोमबार अपरान्हका लागि डाकिएको संसद बैठकमा सहभागी हुने सबै दलका शीर्ष नेतालाई खबर गरेको बीबीसीलाई बताइन्।
अब निरन्तर संसदभित्रै छलफल गरेर दलहरुले सहमति जुटाउनुपर्ने उनको भनाई छ।
सत्तारुढ र विपक्षी दलहरु बीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई लिएर देखिएको मतभेद हल हुन नसकेपछि सभामुखको पछिल्लो चेतावनी आएको हो।

नपर्खिने

विपक्षीहरुले संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा रहँदासम्म संसद बैठक चल्न नदिने बताइरहेका छन्।

सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरे यता हरेकपटक बोलाइएका संसदका बैठक प्रमुख विपक्षी नेकपा एमाले लगायतका दलले विरोध गर्दै आएका छन्।
विपक्षी सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बैठक अर्को दिनका लागि बैठक सार्दै आएकी सभामुख ओनसरी घर्तीले पछिल्लोपटक दलहरुलाई तीन दिनभित्र सहमति गर्न भनेकी थिइन्।
तर सोमबारको बैठक अघि सहमति हुन नसके अब फेरि आफूहरुले दलहरुलाई समय उपलब्ध नगराउने उनले बीबीसीलाई बताइन्।
उनले भनिन्, "मैले दिने समय दिइसकेको छु, अब मैले समय दिए भने पनि राष्ट्र र संविधानले मलाई समय दिन सक्दैन किनभने संविधानको कार्यान्वयनका लागि एकदमै ढिला भइसकेको छ, त्यसैले अब मैले उहाँहरुलाई पर्खिने समय छैन।"

योजना

एकपटक बैठक अवरुद्ध भएमा त्यही दिन अर्को बैठक बोलाउने, दैनिक बैठक राख्ने र आवश्यक परे संसदमै शीर्ष नेतालाई राखेर छलफल गराउने उनको योजना रहेको छ।

सोमबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन सबै दलका शीर्ष नेताहरुलाई खबर गरिएको उनले बताइन्।
उनले भनिन्, "बैठकमा सबै शीर्ष नेतालाई आउनुहोस् भनेकी छु, उहाँहरु सबैजना संसदको बैठकमा आउनुपर्छ र त्यहीँ छलफल गरेर कुनै न कुनै निस्कर्षमा पुग्नुपर्छ।"

सोमबारको बैठकका लागि पनि यसअघिकै बैठकलाई तय गरिएकै संविधान संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयकहरु र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाउने कार्यसूची राखिएको बताइएको छ।

संशोधन विधेयक असंवैधानिक भएको भन्दै विरोध गर्दै आएका एमाले लगायतका दलहरु संशोधन विधेयक फिर्ता नलिएसम्म संसद सञ्चालन हुन नदिने अडानमा कायमै छन् भनेर बि.बि.सी नेपाली सेवाको अनलाईनले लेखेको छ !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger