Home » » बिदेसीको मृत्युमा रांडो रुवाई किन ?

बिदेसीको मृत्युमा रांडो रुवाई किन ?

Written By खांट्टी कुरा on Thursday, January 28, 2016 | January 28, 2016

२०५१ सालबाट सुरु भएको माओबादी कथित जनयुद्दको समयमा गोर्खा फुजेल्का स्व.नन्द प्रसाद अधिकारीको नाबालक छोरालाई आफ्ना मावली घर चितवन गएको बखतमा माओबादीका कार्यकर्ताहरुले बिनाकारण यातना दिएर मारे । कथित जनयुद्धको समयमा माओबादीहरुले मान्छे मार्नु कुनै ठुलो कुरा थिएन । चाहेको बेलामा जसलाई पनि मार्न देखि अंगभंग बनाउन सक्थे र बडो गर्बले ‘सफाया’ गर्यौ भनेर आफ्ना पार्टीको मुखपत्र अखबारमा खबर छाप्न समेत लगाउथे ।
 

मेरो छोरालाई बिनाकारण माओबादीहरुले हत्या गरे । न्याय पाउं सर्खार भन्दै राजधानी पसेका अधिकारी दम्पतिलाई न्यायको बदलामा ‘बौलाहा’ भनेर मानसिक अस्पताल पुर्याउने काम समेत गरियो । त्यसरी पुर्याउनेमा अरु कोहि नभएर एमाओबादी पार्टीका दोश्रा ठुला नेता तथा तत्कालिन सरकार प्रमुख डाक्टर बाबुराम भटराई थिए । डाक्टर भटराई आफु स्वयम  गोर्खाबासी भएर पनि आफ्ना जिल्लाबासीको सुखदुखमा साथ दिनु पर्ने हो कि हैन ? मिठो बोलि बचनले चट्टान जस्तै हृदय भएकाहरु त पगिल्न्छ्न भने आधिकारी दम्पति त्यति कठोर हृदयका पक्कै पनि थिएनन होला तर न्यायको बादलमा मानसिक यातना दिएको कारण न्याय स्व.नन्द प्रसाद अधिकारी ईस्वरमा लिन भए । आज सम्म स्व.अधिकारीको दाह संस्कार सम्म गरिएको छैन ।

माओबादीहरुले कथित जनयुद्धको नाउँ दिएर मच्चाएको १२ बर्षको अवधिमा धेरै नेपालि नागरिकहरुले अकारण ज्यान गुमाए । घाईते तथा अंगभंगको कुनै लेखाजोखा छैन । धन तथा पहुँच हुनेले मुद्धा लडे । केहि मुद्धाहरुमा सम्मानित अदालतले पिडितको हकमा फैसला पनि दियो तर अपराधीहरु अहिले सम्म नेपालको कानूनको खिल्ली उडाएर बाहिर बसेर मोजमस्ती गर्दै बसेका छन ।

‘अपराध गर्नु र गर्न लगाउनु दुवै कानूनको नजरमा दोषी हुन्छन’ भनेर संसारको सबै कानूनको ठेलीमा लेखिएको यो ब्रम्हवाक्य हो तर हाम्रो देस नेपालमा २०४६ सालको प्रजातन्त्र पुनर्स्थापना पश्चात चाहेर पनि सर्खारले अपराधीलाई पक्रिन सक्दैनन । कानून अनुसार कारबाही गर्ने हो भने नेपालको सबै ठुला पार्टीका केहि नेता तथा तिनका नजिकका कार्यकर्ताहरु अपराधिक घटनामा मुछिएका छन । जानाजानी आफ्नु खुट्टामा आफैले बन्चरो हान्ने काम किन गर्थे ।

संसारमा लेखक, साहित्यकार, पत्रकार देखि नागरिक समाजहरु सबै भन्दा शक्तिसाली व्यक्तिहरुमा गनिन्छन । देसको सत्ता परिवर्तन गर्न सक्ने ह्याउ भएका यस्ता हस्तीहरुसंग सर्खार देखि प्रहरी प्रसासन समेत थर्कमान हुन्छन भन्ने मान्यता पनि छ । २००७ साल देखि २०६४ साल सम्मको नेपालको सबै सत्ता परिवर्तनमा यिनीहरुको ठुलो हात समेत भएको हुँदा राजनीतिक पार्टीका नेताहरु यिनीहरु संग जोरी खोज्ने हिम्मत कहिले पनि गर्दैनन ।

अहिलेका ठुला पार्टीका अधिंकास नेताहरु हिजोको समयमा राम्रा लेखक, साहित्यकार, पत्रकार देखि नागरिक समाजको भूमिकामा नाम कहलिएका व्यक्तिहरु हुन । गाउँ, टोला, मोहल्ला, जिल्ला देखि देसको मुहार परिवर्तन गर्नु पर्छ भनेर राजनीतिमा होमिएका यी नायकहरु आज कोहि नेता भएका छन भने कोहि अभिनेता तर ‘खोलो तर्यो लौरो बिर्स्यो’ भन्ने उखानलाई चरितार्थ गर्दै सत्ता र भत्तामा मस्त भएर आआफ्नै सुरमा रमाएर बसेका छन ।

हरेक देसको आ-आफ्नै ऐन, नियम र कानून हुन्छ । ऐन नियम र कानून बनाउने भनेको जनताको प्रतिनिधिहरु नै हो । ऐन नियम र कानून तोडने अधिकार कोहि कसैलाई पनि हुन्न ।

सन ४ अप्रिल १९७९ मा पाकिस्तानी सर्बोच्च अदालतको आदेसले जुल्फिकर अलि भुट्टोलाई फाँसी दियो । भुट्टो पाकिस्तान पिपुल्स पार्टीका नेता थिए । मन्त्रि देखि प्रधानमन्त्री सम्म भै सकेका व्यक्तिलाई सम्मानित सर्बोच्च अदालतको फैसलाले बिनाकारण मृत्यु दण्ड पक्कै पनि दिएन होला ।
भुट्टोलाई फाँसी दिएको बिरोधमा नेपालमा बिरोध प्रदर्शन सुरु भयो । उक्त समय अर्थात २०३५/३६ सालमा नेपालमा एकदलीय पंचायती सासन लागु थियो भने दलहरु माथि प्रतिबन्ध लगाईएको थियो । वास्तबमा भन्ने हो भने त्यो समयको बिरोध प्रदर्शन भुट्टोको समर्थनमा नभएर आफ्नो राजनीतिक फाईदाको लागी त्यो समयको प्रतिबन्धित पार्टी नेपाली कांग्रेस तथा कम्युनिस्ट घटकहरुले मिलेर गरेका थिए ।

छुट्टै स्वतन्त्र देसको माग गर्दै रहेका प्यालेस्टाईन राज्यको गाजापट्टिमा जन्मेका ३४ वर्षीय कवि असरफ फयाद ‘राज्यको बिरुद्धमा सिमान्तकृतहरुका आवाजलाई मुखरित गर्ने’ प्रभावशाली कवि हुन । पछिल्लो समय कविता र पेन्टिङमार्फत सिमान्तकृतहरुका मुद्धाहरुलाई मुखरित गर्दै आएका  थिए
सन २००८ मा कबि फयादले एक कवितासंग्रह इन्स्ट्रक्सन वीद इन प्रकाशित गरेका थिए । जुन कविता संग्रहले साउदी अरेबियामा धार्मिक अनास्था फैलाउने काम गरेको भनेर साउदी सरकारले आरोप लगायो । भगवानप्रति अनादर भाव जगाएको अभियोगमा साउदी सरकारले फयादलाई पक्राउ गर्यो । उनलाई त्यसबेला ८ सय कोर्रा र ८ वर्ष जेल सजाय सुनाइएको थियो । तर पुनरावेदन अदालतले उनलाई निर्दोष सावित गर्दै प्रथम पटक सफाई दियो ।
त्यसपछि फयादले युवतिहरुको साथमा बसेका तस्वीर र साउदी धार्मिक प्रहरीहरुले त्यहाँका नागरिकमाथि आक्रमण गरेको भिडियो सार्वजनिक गरे जुन साउदीको कानूनमा बन्धित कार्य थियो र त्यसैको अभियोगमा सरकारले सन २०१४ को जनवरीमा फयादलाई फेरि पुन: पक्राउ गर्यो र हालै मृत्युदण्ड पनि दीईयो

प्यालेस्टाईनी कबि अल फैयाजलाई हालै साउदी सर्खारले मृत्युदण्ड दिएको बिरोधमा अहिले सामाजिक संजाल देखि पत्र पत्रिकाहरुमा बिरोधको स्वरमा केहि नेपाली बुद्धिजीविहरु कुर्लेको देख्दैछु । मैले माथिनै हरेक देसको आ-आफ्नै ऐन नियम कानून हुन्छ भनेर उल्लेख गरि सकेको छु । नियम कानून तोडने अधिकार कोहि कसैलाई पनि हुन्न र छैन भने बिनाकारण कबि अल फैयाजलाई साउदी सर्खारले मृत्युदण्ड दिएनन । उनले गरेको गल्तिको विवरण माथि उल्लेख गरि सकिएको छ ।
कबि अल फैयाज हुन या हिजोको पाकिस्तानी राजनेता जुल्फिकार अलि भुट्टो । बिदेसी राजनेता तथा कबि साहित्यकारहरु लाई मृत्यु दण्ड दियो भनेर बिरोधका स्वरहरु उचाल्ने बुद्धिजिबी तथा लेखक पत्रकारहरु नेपालको कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध भएका छन । नेपालको राजनीतिक पार्टीमा आबद्ध भएर आवाज उचाल्नेहरू के कस्ता नियत र चरित्रका हुन्छन त्यसको बर्णन गर्नु नपर्ला

यो आलेख लेख्ने पंक्तिकारले जनयुद्दको केहि घटनाहरु उदाहरणको रुपमा प्रस्तुत गरि सकेको छ । माओबादी पार्टीहरु मात्र नभएर अन्य सबै ठुला दल तथा पार्टीको सदस्यता लिएर ऐन नियम कानूनको धज्जी उडाएको अभियोगमा प्रहरी द्द्वारा पक्राउ भई सम्मानित न्यायमुर्ति समक्ष पेस हुँदा कैद संजाय तोकिए पछी कैद मिन्हा गराउने पनि अहिलेका ठुला पार्टीका नेताहरु हैनन ?
आफ्नै देसको ऐन कानूनको धज्जी उडाउँदा सो को बिरोधमा आवाज बुलन्द गर्न नसक्ने तथा अन्यायमा परेकाहरुको लागी आवाज नउठाउने नेपालको बुद्धिजिबी, साहित्यकार देखि लेखक तथा पत्रकारहरुले बिदेसी राजनेता देखि लेखक कविहरु लाई मृत्युदण्ड दियो भनेर नेपाली भूमिमा बिरोधको आवाज उठाउनु त्यो जायज कि नाजायज ?

अन्यायमा परेकाहरुको हकमा आवाज उठाउने मन भए हाम्राहरुले स्व. नन्द प्रसाद अधिकारिको पक्ष्यमा आवाज उठाएर न्याय दिलाउन सक्नु पर्छ । सकिदैन भने नियम कानून तोडेको अभियोगमा मृत्युदण्ड पाएका बिदेसी नागरिकको बिषयमा आवाज उठाउनु भनेको त्यो केवल आफु र आफ्ना राजनीतिक पार्टीहरुको लागी सस्तो प्रचारबाजी मात्र हो भन्ने यो पंक्तिकारको ठम्याई हो त्यसैले ‘आफ्नो आंगको भैसी देख्दादेख्दै पनि आर्काको आंगको जुम्रा कोट्याउनु’ त्यो जायज हैन ।

क्राईम चेक साप्ताहिक मिति २०७२ माघ १४ गते बिहीबारको अंकमा प्रकाशित
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger