Sunday, January 25, 2015

मलेसियामा लेबी तिर्नु पर्दैन भनेको हैन सरकार ?

खांट्टी कुरा     January 25, 2015    

-जनकमान डंगोल/janakdangol@gmail.com
साभार गुगल सर्च, रिंगिट मलेसिया
मलेसियाको मौषमको कुनै टुंगो हुन्न । अस्ति लगातार १ हप्ता पानि पर्यो । पानि पर्दा पनि बिरामी भने अहिले पानि नपरेको फेरी १ हप्ता हुन लाग्यो । मान्छेहरु भटाभट बिरामी हुन थालेको छन । कारण के होला भनेर प्रश्न गर्नु होला । यताको मौषम बर्ष भरिको एकै हुन्छ र चारैतिर समुन्द्रले घेरिएको यो देसमा नेपालमा जस्तो ४ महिने मौषमी सिजन हुन्न । गर्मीले सबै खंगरङ्ग भाको बेलामा अकस्मात बर्षा भयो भने जमिनबाट निस्किएको तातो बाफको कारणले गर्दा नै हो मान्छे बिरामी हुनुको मुख्य कारण ।

नेपालमा जाडोले नाक बन्द हुन्छ भने मलेसियामा गर्मीले । ठ्याक्कै उल्टो छ । नाक बन्द भएर स्वास फेर्न गारो भएर आज फार्मेसीमा औषधि किन्न गएको थिए । फर्किंदा सपिंग मलमा पसेर तरकारी किन्ने सोच बनाएर मलेसियाको सबै भन्दा पुरानो सपिंग मल ‘The store’ मा पसे । तरकारी आफैले छानेर लिए पस्चात काउन्टरमा बिल काट्ने बेलामा छेउमै तिन जना मान्छेहरु नेपाली भाषामा कुरा गर्दै रैछन ।

आइमेलाई माईतिको ‘कुकुर’ पनि प्यारो हुन्छरे भने झैँ अकस्मात छेउमै नेपालीहरु देख्दा मन खुसि नहुने कुरै भएन । घर कता पर्यो साथि मैले प्रश्न गर्दा एकजानाले उत्तर दिए ‘धनगढी’ । मैले पुन: सोधे ‘चौधरी’ हो ? जवाफ दिए हैन ‘राना’ । चौधरी, राना सबै थारु हैनन ? जवाफ दिए हुन त हो तर ?

तलब कति छ त भाई ? अनि ओभरटाईम अन्य भत्ता के कस्तो छ ? मैले नेपालीहरु भेट्दा प्राय सोधिने प्रस्नहरु यस्तै हुन्छन किनभने यताको भोगाईलाई मैले लेख वा समाचार बनाएर पठाई दिंदा अरुले पनि मलेसिया के हो भनेर बुझ्ने मौका पाउछन त्यसैले प्रश्न गर्नुको उद्धेश्य पनि त्यहि नै हो ।

काम बिहान ८ बजे देखि मध्यान्ह ५ बजे सम्म हो दाज्यु । महिनामा १/२ पटक छुट्टी हुन्छ र महिनामा ३०/४० घण्टा भन्दा बढी ओभरटाईम हुन्न । अनि लेबी काट्छ कि काट्दैन भाई ? मैले प्रश्न गरे, जवाफ दिए किन नकाट्नु महिनाको १६०/- रिंगेट कटाउछ । लेबी काटेर महिनाको हजार पनि आउदैन र रासन पानि आदि गर्दा महिनामा ६००/- रिंगेट बचाउन धौ धौ हुन्छ दाज्यु । भागेर जानु पनि नमिल्ने । ईलिगल भएर पुलिसले समात्यो भने झन् आपत हुन्छ भनेर नभागेको । दुख सुख ३० महिना बिताईयो अब ६ महिना बाँकी छ ।
मलेसियाको राजधानी कुवालालाम्पुर बाट जोहर, सिंगापुर मुख्य राजमार्गमा पर्ने योंगपेंग भन्ने स्थानमा राहेको फर्निचर कम्पनीमा काम गर्ने नेपालीहरुको पिडा हो यो ।

मलेसियाबाट नेपालमा पैसा पठाउने विभिन्न रेमिटान्स कम्पनीहरु छ र त्यो मध्ये सबै भन्दा चल्तिको कम्पनि भनेको IME अर्थात ईन्टरनेसनल मनी एक्सप्रेस हो जसलाई नेपालमा ग्लोबल आई एम ई बैंक भनेर चिनिन्छ । म प्राय IME को साखा कार्यालय बातुपहातमा गई रहन्छु । मेरो कम्पनि बाट १० मिनेटको दुरीमा रहेको उक्त कम्पनीमा आईतबारको दिन नेपालीहरुको जमघट हुन्छ ।

अस्ति आइतवार पनि म IME मा गएको थिए । गोरी मंगोलियन अनुहारकी कुर्था सुरुवाल लाएकी अन्दाजी २५/३० बर्षको महिला देखे । पैसा नेपाल पठाउन आएकी रैछिन । घर कता पर्यो चेली ? मेरो प्रश्नको जवाफमा उत्तर दिईन ‘चितवन’ । मैले पुन: सोधे पुर्बी कि पश्चिम चितवन ? खै पुर्बी हो पश्चिम थाहा भएन लोथर साईड हो । तपाई मगर हो ? हैन तामांग ।

एउटा कुरा सोध्छु नरिसाउनुस है, मैले सोधे । किन रिसाउनु सोध्नुस न । तपाई कुन कम्पनीमा काम गर्नु हुन्छ ? जवाफ दिईन ‘पानासोनिक’ मा । पानासोनिक अर्थात रेडियो, टि.भी जस्ता घरायसी सामानहरु बनाउने कम्पनि । अनि पुन: सोधे लेबी काटछ त बैनी ? किन नकाट्नु महिनाको १७०/- रिंगेट काट्छ । नजिकैको आर्को एकजना पातलो सरिर भएको क्षेत्री बाहुन जस्तो अनुहार भएको दुब्लो पातलो भाईले भने ‘के को लेबी फ्री हुनु दाई मलेसियामा, हामो पनि महिनाको १६५/- काटछ’ ।

हाम्रा मेन पावर कम्पनीहरुले मलेसियामा ‘लेबी फ्री’ भनेर बिज्ञापन गर्छन । लागत शुल्क ६५ देखि ७० हजार भनेर भनेता पनि यता आउने सबैले डेढ देखि २ लाख तिरेको गुनासो गर्छन । माथिको चितवन लोथर घर हुने चेलीले “नेपालमा ७० हजार तिरेको दाई यता पनि ६ महिना सम्म महिनाको ३००/- रिंगेटको दरले पैसा काट्यो” भनेर गुनासो गरिन ।

म मलेसियामा २ पटक गरेर झन्डै १० बर्ष हुन लाग्यो श्रम गर्न थालेको । पहिला यताको कम्पनिहरुले सिधै नेपालको मेनपावर कम्पनिहरु संग सम्पर्क गरेर कामदार झिकाउने गर्दथे तर हिजो आज प्रत्येक सहरमा नेपाली एजेन्टहरु सक्रिय भएर नेपालबाट कामदार झिकाउने गरेको देखिन्छ जुन नेपालि कामदारहरुको लागी फाईदाको कुरा हैन । मेडिकल दिएन, लेबी काट्यो, भत्ता दिदैन, रुम चार्ज देखि बत्ति पानि सम्मको पैसा काट्छ । सुनिने गुनासाहरु यिनै हुन भने नेपालमा ६० देखि सत्तरी तिरेर आउनेले यता ६ महिना सम्मको पैसा काट्नु भनेको नेपाली एजेन्टहरुको मिलोमतोमा नेपालि कामदारहरुको पैसा काटेको हो भनेर किन नबुझ्ने ? हैन भने किन त्यसरी पैसा काटिन्छ ?

‘अभागी दुखियालाई जता गए पनि हण्डर र ठक्कर’ भन्ने उखान अहिले नेपाली कामदारहरुमा लागु भएको देखिन्छ भने ‘आईमेको दुश्मन आईमेनै हुन्छ’ भन्ने उखान पनि ठ्याक्कै नेपाली कामदारहरुमा लागु भएको पाईन्छ । यदि मलेसियाको कम्पनिहरुले यताको नेपाली एजेन्टहरु संग सम्पर्क नगरेर प्रक्रिया र बिधि पुर्याएर सिधै नेपाली मेनपावरहरु बाट कामदार झिकाउने ब्यबस्था गर्ने हो भने नेपाली कामदारहरुले ‘लेबी’ देखि अन्य फजुल खर्च तिर्नु पर्दैन भन्ने पंक्तिकारको ठम्याई हो ।

च्याउ जस्ता उम्रेका नेपालि मेनपावर कम्पनिहरु प्राय सबैले यताको नेपाली एजेन्ट समातेर कामदारको कन्ट्रयाक्ट लिने चलनलाई नेपाल सरकारले पूर्णरुपमा निरुत्साहित गर्नु पर्छ । मलेसियाको प्राय जसो सबै कम्पनीहरु भनेको चाईनिज मालिकको हुन्छन र रकम कलमको मामिलामा चाइनिज जस्तो चुईय्या मालिक पंक्तिकारले आज सम्म अरु देखेको छैन । मारबाडी भन्दा पनि डब्बल चुईय्या यी चाइनिज मालिकले आफ्नो फाईदाको लागि बैधानिक हुन या अबैधानिक जस्तो सुकै काम गर्न पनि पछी हट्दैनन भने हाम्रा नेपालीहरुले मलेसिया आउनु भन्दा पहिला यथार्थ बुझेर मात्र आउने सल्लाह दिन्छु र सरकारलाई पुन: प्रश्न गर्छु ‘मलेसियामा लेबी सित्तैमा’ भनेको हो कि हैन सरकार ? जवाफ चाहियो ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .