Thursday, August 29, 2013

गल्ति कस्को अनी दोषी को ?


आजकल सरकारी कार्यालयका कर्मचारीले पैसा नपाए सम्म कामै गर्दैनन ! श्रम कार्यालयमा त्यस्तै छ ! बिदेस जाने बेलामा होस वा फर्केर आउँदा बिमानस्थलमा अध्यागमन र भन्सारका कर्मचारीले अत्ति दुख दिन्छन ! मालपोतको काममा होस वा नगर पालिका/ गा.बि.स. मा सचिबले त्यस्तै दुख दिन्छन ! बिजुली तथा पानिको नया मिटर जडान गर्ने कार्यमा पैसा नदिए सम्म कामनै गर्दिदैनन ! घरको नक्सा पास गराउन त झन अत्ति दुख र सास्ती व्यहोर्नु पर्छ ! हिजो आज सबै जनताको मुख बाट सुनिने गुनासो हरु यस्तै हो !

बिगत केहि दिन देखि सबै प्रकारको संचार माध्यममा अख्तियारले सरकारी कर्मचारीलाई घुस लिंदै गरेको अबस्थामा पक्राउ गर्यो भनेर देख्न तथा सुन्नमा आएको छ ! आखिर किन यस्तो भयो र हुदैछ त ? सरकारी कर्मचारीले किन जनतालाई दुख दियो ? सरकारी कर्मचारीले किन घुस खाए ? घुस खानु पर्ने कारण के रैछ ? आफ्नो तजबीजले घुस खाएको हुन कि बाध्यतामा परेर खाएका हुन ?
घुस लिन्या र दिन्या दुवै मुलुकका दुश्मन हुन
सरकारी सिन्दुर पहिरियर देस र जनताको सेवा गर्छु भनेर नियमानुसर सबै परकारको परिक्षामा सफल भै योग्यता अनुसारको दर्जामा भर्ना गरिएका सरकारी सेवाको कामकाज गर्ने व्यक्तिलाई रास्ट्र सेवक भनिन्छ ! रास्ट्र सेवकले सरकारी सेवा र सुबिधा बाहेकको अन्य नगद जिन्सी लिनु दिनु लाइ गैरकानूनी मानिन्छ र त्यस्तो लिने तथा दिने दुवै लाइ प्रचलित नियमानुसारको दण्ड संजाय गरिने ब्यबस्था निजामति, प्रहरी तथा जंगी ऐन नियममा ब्यबस्था गरिएको छ !
घुस त नेपाल देस उत्पति भए देखिने भाको हो र त्यहि देखेर नै होला घुस लिन्या र दिन्या दुवै मुलुकका दुश्मन हुन भनेर रास्ट्र निर्माता बडामहाराजधिराज स्व.पृथ्बी नारायण शाहले भन्नु भएको थियो ! घुस त २०४६ साल भन्दा अगाडी पन्चको पालामा पनि चल्थ्यो तर टेबुल माथि नभएर टेबुल मुनि बाट जसलाई अंग्रेजीमा Under table money भनेर भनिथ्यो ! तर उजुर बाजुर परेर उ माथि अभियोग प्रमाणित भयो भने भविष्यमा सरकारी नोकरीको लागि अयोग्य ठहरिने गरि सेवा बाट बर्खास्त मात्र हैन दण्ड जरिवाना सहित जेलको हावा समेत खानु पर्थ्यो ! उदाहरणको लागी हेर्नुस २०३३ सालमा गलैंचा काण्ड परेर प्र.म तुलसी गिरीको मन्त्रीमंडल भंग, २०४४ सालमा पुर्ब प्रहरी महानिरीक्षक दिल बहादुर लामा तथा पुर्ब कर्नेल भरत गुरुंगको दण्ड र बिगो सहितको जेल संजाय ! यस्ता थुप्रै उदाहरण छन !
२०४६ साल पछी नेपालमा जंगी र प्रहरी सेवा बाहेक सबै सेवामा कर्मचारीले संगठन खोल्ने सुबिधा पाए ! कर्मचारीको हक हितको लागि भनेर खोलिएको संगठन एक बाट दुइ, दुइ बाट चार हुँदै आज दर्जनौ पुगी सकेको छ ! सबै कर्मचारी संगठन देस, सरकार र जनता प्रति आस्थावान हुनुको साटो राजनीतिक पार्टी र तिनका नेता प्रति आस्थावान हुन थालेको छ ! कर्मचारीको सबै प्रकारको नियुक्ति, सरुवा, बढुवा, पुरस्कार, बिदेस तालिम, दण्ड र संजायमा राजनीतिक पार्टीको चर्को हस्तक्षेप छ ! नहोस पनि कसरि ! जनताको सेवा गर्ने कर्मचारीले राजनीतिक पार्टीको झण्डा बोक्दै जनताको सेवा गर्न छोडेर बन्द, हड्ताल, चक्काजाम र जुलुस आमसभामा भाग लिन जान्छन ! नजाउन पनि कसरि भर्ना तिनै पार्टीका नेताले गरि दिएका हुन ! सरुवा बढुवामा तिनै पार्टीका नेता र कार्यकर्ताको हालीमुहाली चलेको छ ! पार्टीलाई दिने लेबी, चन्दा छुट्टै छ ! यो महंगीको जमानामा सरकारले दिएको तलब भत्ताले जाहान परिवार पाल्ने कि पार्टीलाई लेबी चन्दा बुझाउने ?
एउटा प्रसंग,
आफ्नै पार्टीको बहुमतको सरकार हुँदाहुँदै पनि छत्तीसे र चौहत्तरे गुटमा विभाजित भयर सरकार ढले पछी भएको मध्यावधि निर्वाचनमा ने.का.पार्टीले अबको प्रधान मन्त्रि कृष्ण प्रसाद भटराई भनेर घोषणा गरे पछी मध्यावधि निर्वाचन पश्चात कांग्रेसको सन्त नेता भनेर चिनिने कृष्ण प्रसाद भटराईले पर्सा जिल्लाको निर्वाचन क्षेत्र न १ बाट निर्वाचन जित्नु भएको थियो ! निर्वाचन जिते पश्चात आफ्नो निर्वाचन क्षेत्र बिरगंजमा आउँदा उहाँले सरकारी कर्मचारी लाइ दिनु भएको निर्देसनमा खान्छन कर्मचारीले घुस अलि अलि खाँदा के फरक पर्छ र भन्नु भएको थियो ! गरिमामय सर्बोच्च पद प्रधान मन्त्रि जस्तो धारण गर्नु भएको नेता तथा सरकार प्रमुखले कर्मचारीलाई यस्तो भन्दा कर्मचारीको मनोबल घट्यो कि बढ्यो त्यो मैले उल्लेख गर्नु जरुरि ठानिन !
गल्ति गर्ने, बद्मासी गर्ने जुनसुकै ओहोदाको रास्ट्र सेवक किन नहुन तिन माथि नियमानुसार कारबाही गर्नुको साटो राजनैतिक पार्टीले मेरो मान्छे भनेर सफाई दिन्छन भने ति सरकारी कर्मचारीले निर्धक्क संग घुस खान्छन कि खादैनन ? सरकारी कर्मचारीहरुलाई जनताको सेवा गर्न लगाउनुको साटो राजनैतिक पार्टीको कार्यक्रममा भाग लिन लगाउछन भने ति सरकारी कर्मचारी हरु जनता प्रति उत्तरदायी हुन्छन कि पार्टी र नेता हरु प्रति ? राम्रो आम्दानि हुने ठाउँमा पार्टी भागबण्डा गरेर बोल कबोलको साथ पठाएको कर्मचारीले तोकिएको रकम उठाउछन ! त्यो उठाउने भनेकै सेवाग्राही बाट हो ! यदि तोकिएको रकम पार्टीका नेतालाई बुझाइदैन भने त्यो कर्मचारीको सरुवा हुने त बिकट दुर्गम स्थान नै हो भने उसले जानाजानी त्यो अपराध गर्छ कि गर्दैन ? आखिर भोलि उसलाई केहि पर्यो भने बचाउने त उसको राजनैतिक पार्टीका नेताहरु त छदैछ भने उसले निर्धक्क संग सेवाग्राही संग घुस किन लिंदैन ?
अब बिस्लेष्ण गर्नुस दोषी को ? कर्मचारी ? राजनीतिक पार्टीका नेताहरु तथा तिनका नजिकका कार्यकर्ताहरु वा स्वयम जनताहरु ? दोषी त हामि जनताहरु नै हौ नि ! यत्रो सबै हुँदा र देख्दा देख्दै भोग्दा भोग्दै पनि ति राजनीतिक पार्टिका नेताहरुको गुलियो र चिप्लो भाषणमा मक्ख परेर आफ्नो अमुल्य मत दिएर पटक पटक जिताएर सत्तामा पठाउछौ ! तर के हाम्रो मतको सहि सदुपयोग गरेका रैछन त ? जनताको अमुल्य मतको कदर नगर्ने राजनीतिक पार्टी तथा तिनका नेताहरु लाइ जब सम्म जनताले दण्डित गर्दैनन तब सम्म हामीले पाइला पाइलामा दुख पायौ भनेर फलाक्नुको के अर्थ ? सबैमा चेत पलाओस !  
© जनक मान डंगोल, www.janakdangol@gmail.com .. 2013/08/30 Friday 12:58pm