Home » » को हो ध्रुबे र किन मच्चायो त त्यसले आतंक ?

को हो ध्रुबे र किन मच्चायो त त्यसले आतंक ?

Written By खांट्टी कुरा on Thursday, December 20, 2012 | December 20, 2012

को हो ध्रुवे ?:-
२०६५ सालसम्म अहिलेको ध्रुवे हात्ती कता थियो कसैलाई पत्तो थिएन। स्थानीय र सरकारी अधिकारीका अनुमानमा सायद आफ्नै झुण्डसँग रमाउँदै थियो। तर २०६६ सालमा अचानक झुण्डसँग छुट्टिएको एक्लो जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सेनाको ध्रुव पोष्टमा हिउँदताका छिर्यो। बसेका सेनाका जवानलाई लखेट्दै र त्यहाँका घर भत्काउदै उसले रातभरी आतंक मच्चायो। सेनाको टोलीसँग रहेको पोथी हात्ती... उसको आकर्षण थियो। तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थाल्यो। त्यतिखेर निकुञ्जभित्र तैनाथ गोरखनाथ गण थियो। गणका सुरक्षाकर्मीले पोष्टतिर ढिम्कनै नदिनेगरेर पटक पटक उसलाई धपायो। ध्रुवपोष्टमा हैरान पारेकाले त्यहाँका सुरक्षाकर्मीले उसको नामै ध्रुवे हात्ती राखिदियो। अहिले रहेको नाम त्यहीबेला रहेको नाम हो। ध्रुव नामको व्यक्ति मारेको भएर हैन। 'ध्रुवपोष्टका सुरक्षाकर्मीले नै राखिदिएको नाम हो ...

तात्कालिन चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने 'त्यही पोष्टबाट नै उसले आतंक फैलाउन शुरु गरेको हो।उनका अनुसार पहिले पनि जंगली हात्तीले कहिलेकाँही घर भत्काउने बाहेक अरु क्षति गरको थिएन। लामो समय चितवन रहेर काम गरेका भण्डारी हाल निकुञ्ज विभागमा काजमा कार्यरत छन्।  ध्रुवपोष्ट निशानामै रहेका बेला २०६६ साल माघ २२ गते पश्चिम चितवनको जगतपुर घैलाघारीमा शिवमन्दिरको उद्घाटन हुँदै थियो। जंगल र वस्तीको साँधमा रहेको शिवमन्दिर उद्घाटन गर्न स्थानीय र निकुञ्जका टोली तैनाथ थियो। शिवमन्दिर उद्घाटन सकिँदा नसकिँदै ध्रुवेको आतंक त्यहाँ फैलियो। ध्रुवे आएपछि स्थानीय र निकुञ्ज पदाधिकारीको भागाभाग नै भयो। तर सेनाका जवान रिद्धीविर दोङ उसको शिकार बन्यो। सुँडले उचाल्दै र खुट्टाले कुल्चँदै उसले रिद्धीविरलाई मारिदियो।
सेनाका जवान रिद्धीविर मारेपछि उसलाई पश्चिम चितवनेहरुले रिद्धीविर नामाकरण गरिदिए।
२०६६ माघ २५ ताकाको भ्यालेन्टाइन डेमा चितवन राष्ट्रिय निकुञ्जभित्रको ठूलो होटल टाइगर टप्समा राम्रै रमझम चल्दै थियो। निकुञ्जको भिम्लेपोष्ट नजिकको होटलमा विदेशी र स्वदेशी पाहुनाहरु आफ्ना भ्यालेन्टाइनसँग रमाउँदै थिए। रातको मस्त भ्यालेन्टाइन पार्टीका बीच रिद्धीविर होटलमा प्रवेश गर्‍यो। होटलमा रमाउँदै गरेका पाहुनाहरु हाहाकार गर्दै कोटाचोटामा लुक्न गए। रिद्धीविरले भने भ्यालेन्टाइन डे मनाउन होटलको हात्तीसारमा रहेकी पोथी हात्ती चन्चलकलीलाई भगाएर लग्यो।
'भ्यालेन्टाइन डेका दिन पोथी हात्ती भगाएकाले रिद्धीविरबाट धुव्रेको नाम हामीले भ्यालेन्टिनो राखिदियौं', त्यतिखेर होटलमै रहेका कर्मचारी रामसिंह गुरुङले भने। एउटा दाह्रा भाँचिएर छोटो रहेको भ्यालेन्टिनोले चन्चलकलीलाई बिरामी नै बनाएको उनी बताउँछन्। 'अहिले पचास लाख पर्ने चन्चलकली बिरामी भएरै मरी, उनी ध्रुवेले दिएको पीडा सुनाउँछन्। त्यतिमात्र हैन हात्तीपोलोमा एम्पाएर भएर खेल्ने समशेर गज हात्तीसँग जुधेर त्यसलाई पनि मारिदियो।' पोलो खेल्दै गरेको समशेर गजलाई जंगल पुर्याएर मारेको थियो।
२०६६ को वर्षाताका भ्यालेन्टिनो ध्रुवे त्यति देखिएन। तर हिउँद नआउदै मेघौलीतिर ढिम्कियो। २०६७ साल भदौ १९ गते गाउँको घरमा आक्रमण गरेर पूर्व हवल्दार शुकबहादुर गुरुङलाई मारिदियो। गाउँमा हात्ती पसको भन्दै स्थानीयले निकुञ्जलाई दबाब दियो।
निकुञ्जका सुरक्षाकर्मीले हात्ती गाउँपस्न नदिन त्यहाँबाट भगायो। त्यसपछि फेरि ध्रुवे बनेर माडीमा पटक पटक माडीमा आतंक मच्चाउन थाल्यो। पश्चिम चितवनबाट खेदिएपछि दक्षिणमाडीमा ध्रुवेले बढी मानवीय क्षति पुर्‍याएको छ।
कयौं पटक धुव्रेलाई गाउँ पस्न नदिन माडीका स्थानीयले रातभर आगो बालेर बिताए। तर पनि उसले मान्छे मार्न छाडेन। एउटा दाह्रा केही छोटो भएको र एउटा दाह्रा निकुञ्जले काटिदिएर रेडियोकलर मंसिर ६ गते जोडिदिएको हात्ती चितवनमात्र हैन पर्सा, रौतहट, बारा र भारतका सीमाक्षेत्रमा पनि आतंक मच्चाउन पुगेको पत्ता लागेको छ।
जवान हात्ती ध्रुवेको पोथीसँग बस्ने दिन हो। 'पोथीसँग सम्पर्क राख्ने चाहना तिब्र हुने बेला निस्कने समय बढी आक्रामक हुने गर्छ', निकुन्जका रेन्जर विष्णु थपलियाले भने विगत चार वर्षमा दुईपटक लठ्याएर जंगल छाडेका पनि हो तर आतंक घटेन।'
रेडियोकलर लाएदेखि १ सय ५० किलोमिटर दुरीको विचरण ध्रुवे हात्तीले गरेको छ। ध्रुवेले माडी,पर्साको ठोरी हुँदै रौतहट बकैया नदीसम्म पुगेर चारजनाको हत्या गरेको पुष्टि उनले गरे। मंसिर ३० गते माडीका बुद्धिविराम र जरिया बोट दम्पती जस्तै मंसिर २३ मा भारत सीमाको सिसवामा मंसिर २३ गते दम्पती भदई माझी र सुकई माझीको हत्या गरेको थियो।
'यही हात्ती हो कि हैन भन्ने अन्यौलमा थियौं थपलियाले भने तर रेडियोकलरको सूचना अनुसार जुन-जुन ठाउँमा ध्रुवेको उपस्थिती छ त्यहाँ मानिस मारिएका छन्। '
हात्तीको बानीबेहोरा अनुसार झुण्डमा रहेका बेला उसले बढी क्षति गर्दैन। तर साथी नहुँदा एक्लो भएपछि बढी आक्रामक बन्ने गर्छ। ध्रुवे हात्तीले भने मानिसको स्वर सुन्नै नहुने गएर मारिहाल्ने प्रवृत्ति देखाएको रेज्नर थपलिया बताउँछन्।
'आर्मीको लुगा र बन्दुक र उज्यालो देखे भाग्छ तर मान्छे कराएको सुन्यो भने त्यतै गएर मार्छ', उनले ध्रुवेको गतिविधिका बारेमा उनले बताए।
मानिस मार्ने क्रम नरोकिएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा अहिले निकुञ्जका सुरक्षाकर्मी,रेन्जर रुपक महर्जन ,चिकित्सक कमल गैह्रे हात्ती मार्न जंगलमा अहोरात्र खटिएका छन्। रेडियोकलरबाट हात्ती जतागयो उतै उनीहरु चहारिरहेका छन्। तर भेटाउन नसकेको वार्डेन झमक कार्की बताउँछन् ।
..
(श्रोत: रामचन्द्र बस्यालजी)
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger