देशमा आमुल परिवर्तन को लागी अब हामीले संघर्ष गर्नु पर्छ साथि हो ! गाउँ समाजमा रहेको शोषक तथा सामन्तीहरु लाइ ठिक पार्नु पर्छ भन्दै लडाकुको कमाण्डरको भनाइ सुनेर बहादुर साइला पनि घरमा भर्खर भित्र्याएको जाहान लाइ छोडेर क्रान्तिमा भाग लिनु गो ! दिन, हप्ता ,तथा महिनौ बिते ! एक रात साँझ आफ्नो प्यारीलाई भेट्न टुप्लुक्क आइपुग्यो ! घर गाउँ तिरको सबै हालखबर सन्चो बिसन्चो सोध्यो ! भरे भोलि भै सकेकी जाहानले सकी नसकी ढिडो ओडालीदिइन ! चुल्हो माथिको ताक बाट ढीकको नुन र बारीको ढीडे खुर्सानी टिपेर गुन्द्रुक साधी ! कुपू कुपू ढिडोको तालमा सुस्त सुस्त जोइ पोइको गफ गाफ भो ! बिहान भालेको डाक संगै बहादुर साइलोले 'बस है माया .. नमरी बाचे कालले साचे भेट होला भन्दै दुइ जिउको जहाँन को मुखा पुलुक्क एक पल्ट हेर्यो अनि निस्केर गो ! माया बिचरा बोल्न सकिन ! मुटु बटारियो अनि मनमनै भनि 'कस्तो पापी आफु याहा भरे भोलि भाको छु' आँखा बाट तुरुक्क दुइ थोपा चुहाई ! अनि मनमनै भनि मेरो भाग्य नै खोटो रहेछ !
..
पर्सि पल्ट को कुरो हो पारि जंगलमा दोहोरो भिडन्त चलेको छ रे भन्ने खबर गाउँ भरि फैलियो ! मायाले पनि सुनी मनमनै देउता पुकारी र भनी उसलाई केहि पनि नहोस ! लडाईको अग्र भागमा बसेर लडेको बहादुर साइलालाइ दुस्मनको गोलीले कति खेर मुटु छेड्यो पत्तै भएन ! एकपल्ट ऐय्या र पानि भन्यो ! तुरुन्त मोर्चा बाट निकालेर मरहम पट्टि गर्न नपाउदै सकी नसकी कनेर 'लाल सलाम कामरेड' भन्ना साथ यो पापी संसारबाट बिदा भो ! लडाई थामिना साथ् पार्टीको नियम अनुसार पार्टीको झण्डा ओडाएर धेरै बहादुर साइलाहरु लाइ जंगलको खाल्टोमा बिदा गरे ! त्यहि बेला यता मायालाई व्यथाले चाप्यो ! केहि समयमा स्वस्थ राम्रो छोरालाई जन्म दिई ! भोलिपल्ट लडाकुको कमान्डर दलबल सहित माया लाइ भेट्न गो र भने तपाइको श्रीमानले बहादुरीको साथ लडेर सहिद हुनु भयो ! एउटाले खुसुक्क भन्यो हिजो उहाले छोरा पाउनु भएको रहेछ ! लडाकुको कमाण्डरले बहादुर साइलाको छोरा लाइ काखमा लिएर भने यसको नाउ राख्नु भो ? मायाले मुन्टो हल्लाउदै भनि छैन ! कमाण्डरले सबै गाउलेको अगाडी घोषणा गरे आजबाट यो बच्चो को नाउ हामीले 'क्रान्तिबीर' भनेर राख्यौ ! माया बोलिन आसु चुहाउदै टोलाई !
..
हिजो लडाइमा धेरै बहादुर साइला हरु सहिद भए ! धेरैको सिउदो उजाडियो र कति गर्भे टुहुरा भए ! आज तिनिहरुले न्वारान गरिदिएका क्रान्तिबीर हरु कोहि गिट्टी कुट्दै छन ! उमेर ढाटेर खाडीमा जोतिन गएका का छन भने बाबु आमा दुवै गुमाएकाहरु महानगरमा फोहोरको थुप्रोमा प्लास्टिक केलाउदै बसेका छन ! आज तिनीहरु लाइ यों पापी संसारले क्रान्तिबीर हैन 'खाते' भनेर पुन: न्वारान गरि दिएका छन ! 'लाल सलाम' हरुको क्रान्ति भनेको यस्तो हुदो रैछ !
No comments:
Post a Comment