Home » » मलेस्या आउदै हुनुहुन्छ ?

मलेस्या आउदै हुनुहुन्छ ?

Written By खांट्टी कुरा on Tuesday, October 21, 2014 | October 21, 2014

सप्पै लाउरे भाको देखेर यो ज्यानलाई पनि लाउरे बन्ने भूतले समातेको हुँदा हुँदो खाँदोको सलाम लिने दिने जागिरलाई अल बिदा गरेर औरेजी तारिख भन्ने सन २००४ को डिसेम्बर ९ तारिखा बंगाली बोन्धुहरुको देस हुँदै मलेसिया छिरे पछिको घटना आज हजुरहरुलाई सुनाउदैछु !
दृश्य: १
मलेसियाको राजधानीको मुख्य हवाई अड्डाको भित्र अध्यागमनमा हामीहरु १८ जनाको डफ्फा पुग्नु र ईन्डोनेसियाको हुल आई पुग्नु एकै साथ पर्यो ! लस्करै अध्यागमनको जाँचपास काउन्टर ! हामीलाई लिन कम्पनिबाट प्रतिनिधि आई पुगेका थिएनन भने अरु देसबाट आउने कामदारहरुको पनि स्थिति त्यहि नै थियो !
दृश्य: २
बिस्कुटको जस्तै चारपाटे मुख नथुनिएको कार्टुन त्यो भित्र काउब्वाई जिनको पाईन्ट १ थान, १ थान टिसर्ट, सेतो रंगको स्त्रीले छातीमा लाउने चेस्मा, कट्टु आदि छेउमै राखेर टुक्रुक्क बसेका इण्डोनेसियन भर्खरका देखि अर्ध बैंसका युवतीहरु र ति सबै मै जस्तरी ठुला तथा रंगिन सपना देख्दै पसिना बेच्न आएका हुन भन्ने मेरो बुझाइ किनभने त्यो बेला म मलेसियाको भाषा बुझ्दिन थिए !
दृश्य: ३
कम्पनि बाट प्रतिनिधिहरु हामीलाई पनि र तिनीहरुलाई अनि अध्यागमन बाट छुटाउन आईपगेको जनाउ पाइयो ! बिदेसी कामदारहरु आफु खुसि अध्यागमन पास गर्ने चलन रैनछ ! अध्यागमनको प्रक्रिया सकेर लागियो हामीहरु आफ्नो गन्तब्य तिर तिनीहरु उनीहरुको गन्तब्य तिर त्यस पछी आज सम्म ति अनुहार देखिएको छैन !
दृश्य: ४
पाले अर्थात सेक्युरिटी गार्डको जागिर कहिले पनि एकै स्थानमा हुन्न ! यो कम्पनि बाट आर्को कम्पनि यस्तै गरि सुरक्षाको काम गर्नु पर्ने तर मेरो हकमा त्यो भएन मेरो एकै स्थानमा रात्रि सेवा दिनु पर्ने भयो जुन आजको मिति सम्म कायमै छ तर फरक के भने तिन बर्ष पहिला सुरुको सेक्युरिटी गार्ड सप्लाई गर्नेको मातहतमा बसेर काम गरियो भने त्यस पस्चात आफ्नै जिम्मा जमानीमा आएर काम गरियो !
दृश्य: ५
सुरुको कम्पनि अर्थात सन २००५ देखि २००७ सम्म रात्रि एकै स्थानमा डिउटी गरिएता पनि दिउसो ओभर टाईम गर्न गईन्थ्यो ! म प्राय औधोगिक क्षेत्रको एरियामा पर्थे ! नगर पालिकाको जस्तो गरि ढाट तान्ने खोल्ने र औधोगिक क्षेत्र भित्र आउने सवारी चेक जांच देखि दर्ता सम्म गर्नु पर्ने ! म अलि फराकिलो मिजासको भएकोले गर्दा मेरो वरी परि नेपाली देखि बंगालीहरु खुब झुम्मिन आउथे ! म चुट्किला सुनाएर हल्का फुल्का मनोरंजन गरि दिन्थे यी सबै प्राय आईतवार हुन्थ्यो किनभने यता आइतबार छुट्टी हुन्थ्यो !
दृश्य: ६
सेतो लेडिज टिसर्ट लाकी अन्दाजी ३५ काटेकी मोटी मोटी पछाडी झोला भिरेकी हेर्दा झ्वाट्ट तामांगनि जस्तै देखिने २ जना आईमाई मेरो छेउमा आई ! एउटीले बोलि अप्ठ्यारो पारेर 'नोमस्ते दाई' भनि ! बोलि नेपाली हैन तर नेपाली बोलेको देख्दा म छक्क परे तर मैले सोध्न नपाउदै उसैले भनि म इण्डोनेसियन हो तर मेरो लोग्ने चैँ नेपाली ! नाम भिम बादुर तामांग घर भोजपुर !
अनि मैले सोधे खै त लोग्ने ?
जवाफ दिईन उ त नेपाल गयो ! अब आउदैन भनेर अन्वार अमिलो पारेर खिसिक्क हास्दै भनि जान्छु है दाई नोमस्ते ! मैले हस भने तर जिल्ल परेर हेर्नु भन्दा अरु के नै थियो र !
दृश्य: ७
एक दिन डिउटी बदल्न ढिला आयो ! झमक्क साँझ पर्दै थियो ! मैले डिउटी लिएको अगाडी झाडी जस्तै ठाउँ थियो ! टन्नै नेपाली तथा बंगालीहरु जोडी भएर गफ गर्दै थिए ! सुँक्क सुँक्क बाट रुवाबासिको आवाज आयो ! अगाडी बाटो हिड्दै गरेको एक जना पुर्ब तिरको भाईलाई सोधे के भाको हो भनेर ! ति भाईले हास्दै जवाफ दिए यस्तै हो दाई यता ! भोलि फिनिस जान लागेका हुल हो त्यहि भएर रुवाबासी मच्चेको तर यो सबै नक्कली हो ! हाम्रा नेपाली र बंगाली गयेसी आर्को खोज्छन ! पैसा हो दाई सबै !
दृश्य: ८
सायांग साया हारी जाडी सुडा साम्पाई (प्रिय मेरो जन्म दिन आई पुग्यो) केटिले लाडे पल्टिदै भन्छे ! यस्तो जन्म दिन उसको बर्षको ३/४ चोटि आउछ रे ! जन्मदिनको माग औठी देखि सिक्री सम्म हुन्छ भन्थे !
नेपाल बाट आको २/३ महिना सम्म मात्र हो नेपाली गाई जस्तो सिधा ! ३ देखि चार महिनामा सयकडा पाँच काढेर आको ऋण तिर्छन ! त्यस अछी त्यो बिचमा भाषामा पारङ्गत ! काम गर्ने फ्याक्ट्रीमा कुममा कुम जोडेर बस्ने हो भन्छन !
हाम्रो गाउँको १ जना भाई मलेस्या आको धेरै बर्ष सम्म फर्केनछ ! म छुट्टी गाको बेलामा बुढी आमै मलाई भेटन आई सायद छोरा संगै हो कि भन्ने आसले ! सबै कुरा बुझे पछी मैले भने आमै एउटा सजिलो उपाय सिकाई दिन्छु है ! आमैले भन्नुभो हस बाबु ! मैले भने तपाईको ब्वारीलाई फुन गर्न लाउनु र भन्नु 'आमाको मुख हेर्ने भए तुरुन्त आउनु अर्जेन्ट' ! छोरा आयेसी छोराको पासपोट आगामा हाल्दिनुस त्यो भन्दा आर्को उपाय छैन !
बुढीमाउले त्यस्तै गर्नु भएछ ! छोरो आई पुग्यो अहिले गाउँमै छ तर पासपोट आमैले जलाई दिईन ! फेरी फर्केर जाने हिम्मत गरेन र मैले माथि उल्लेख गरे झैँ उ पनि आर्को भिम बादुर भो !
नेपाली मात्र हैन बंगाली सम्मका कामदारहरु इण्डोनेसिया, फिलिपिन्स, भियतनामी, कम्बोडिया अनि यतैको स्थानीय मले, चाइनिज र दक्षिण भारतीय केटि देखि आईमाईहरु संग लागेर आफ्नो महिनाभरिको कमाई स्वाहा गर्ने असंख्य छन !
कोहि कसैको मान मर्दन गर्न भनेर यो लेख लेखिएको हैन तर हिजो जे सोचेर मुग्लान पसिएको हो त्यो एकफेर सोच्ने हो भने दुख: गरेर कमाएको पुंजी नेपाल भित्रिन्थ्यो र आफ्नो परिवार देखि देसको अर्थतन्त्र सम्ममा टेवा पुग्लाकि भन्न मात्र खोजिएको हो !
यता मलेसिया आउदै हुनुहुन्छ भने चार कुराको ख्याल गर्नु भो भने राम्रो हुनेछ त्यो हो केटि, रक्सि, टोटो भन्ने चिट्ठा जस्तै जुवा र चुरोट ! 
..
जनक मान डंगोल।janakdangol@gmail.com


Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger