Latest Post

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

कविता -- सुनकोशी र पहिरो

Written By खांट्टी कुरा on Monday, October 27, 2014 | October 27, 2014

समा श्री
गिलो छातीमा छोडेका पदछाप
अब गिलो रहेनन्
चट्टान भएका छन्
कठोर अति कठोर भइसके
आँखा भने अझै गिला छन्
सप्को भिजाउँदै
जब नानीहरू अबोध प्रश्न गरिदिन्छन्
"बा खै ?" भनेर
आँशुको श्रोत चाहार्छु
तब कलेजी रेटिन्छ
अनि भेटछु
थुप्रै बिझाउने कुराहरू
आँखालाई धेरै कुराले बिझाउँदा रहेछन्...
शब्द त फूल भन्दा कोमल हुनुपर्ने
तर होइन रहेछ
कोमलता जिब्रोले मात्र सम्हाल्दो रहेछ
बचन त हृदय बेधने धारीला बाण रहेछन्
भित्रभित्रै पहिरो जान्छ
सेती खोँचझैँ
नसानसामा लावा बनेर
प्रश्न दगुरिदिन्छ
चट्टान हृदयबाट प्रवाहित रसले
आँखालाई गिला बनाउछन्
आँखालाई प्रश्नले पनि बिझाउँदो रहेछ

तिमीले के गर्‍यौ ?
गर्न हुने गर्‍यौ कि
गर्न नहुने गर्‍यौ ?
तिम्रो मृत्यु
अनेक उपमा र अलंकार युक्त छन्
मानिसहरू त्यसै भन्छन्
मृत्युलाई वरण गर्नु
के तिम्रो महानता हो ?
या प्राप्तिको लागि बलि ?
मलाई सोध्न मन लाग्छ
त्याग गरेर तिमीले के पायौ ?
त्याग गरेर तिमीले के दियौ ?
तिमी कहाँ छौ थाहा छैन
तर नानीहरूका प्रश्नको जवाफ दिन
यहाँ कोही छैन
यहाँ कोही पनि छैन
एकलासमा तिम्रो अनुपस्थिति
आँखालाई गिला बनाउछन्
आँखालाई अनुपस्थितिले पनि बिझाउँदो रहेछ

ओठलाई बलजफति जोडेर
शब्द नखस्ने बाँध बनाउन
दुष्कर हुँदो रहेछ
यहाँ त बाध्यताले
ओठ सिइदिएका छन्
भित्र गहिरो कालो गाढा मौनता
प्रतिपल जन्मिदैछ
मौनता अर्थहिन हुँदैन
मौनता निर्वल पनि हुँदैन
यो बडो निर्दयी हुन्छ
यो बडो जण्ड हुन्छ
दुष्परिणामको भयले
मेरो हृदय काँप्छ
म जबरजस्ती मौनतालाई सुस्केरामा बेह्रेर
फुस्स उडाइदिन्छु
माउ माकुरी बनेर
रक्षा गर्छु नानीहरूको
र उनीहरूलाई हेर्छु
प्रश्न गर्दागर्दा
उत्तर नपाएर निराश नानीहरू
आजकाल प्रश्न गर्दैनन्
कहिले एकटक भित्तातिर हेरिरहेका हुन्छन्
कहिले आकाश हेर्दै टोलाइरहेका हुन्छन्
थाकेर जब उनीहरू
मेरा आँखामा हेर्छन्
तब शून्यता
आँखालाई गिलो बनाउछ
आँखालाई शून्यताले पनि बिझाउँदो रहेछ

सुनकोशी
पहिरो नजाँदा पनि बगेको थियो
सुनकोशी
पहिरो गएपछि पनि बगिरहेकै छ ।

आजको कविता !

Written By खांट्टी कुरा on Saturday, September 13, 2014 | September 13, 2014

ओ ! अन्जु पन्त
लु आईज
खोलेरै देखाउछु तलाई ।
मैले
खप्ट्याएर राखेको छु
र आमा
गिता ओछ्याएर बाईवल सुतेको देख्नुहुन्छु
र बा
बाईवल ओढेर गिता सुतेको भेट्नुहुन्छ ।
कृष्ण प्रणामी मन्दिरको बायाँपट्टि
बौद्द्स्तुपा नजिकैको जाँमे मस्जिद सङ्ग जोडिएको तेरो चर्चबाट
घर फर्किदै गर्दा
आईज मेरो घरमा
देखाउछु
मेरो कोठको त्यहि दराज
जहाँ राखेको छु गिता र बाईवल ।
के त भन्न सक्छेस मेरी आमा हिन्दु होईनन् ?
के तँ भन्न सक्छेस् मेरा बा कृश्चियन होईनन् ?
कृपया !
बहिनिले दुईचुल्ठि बाँट्दा
आमाले सिंदुर लगाउदा
बाले ढाका टोपि मिलाउदा हेर्ने
दराजको शिशामा
हेरेर तेरै ओठको रातो लालि नमुस्कुराउनु तँ
किनकि
धर्मबेश्या हाँसेको मनपर्दैन मेरो दराजलाई ।

म भकिम्लाको दाउरो !

Written By खांट्टी कुरा on Friday, August 15, 2014 | August 15, 2014

म भकिम्लाको दाउरो
कबि: एस.के.निधन
मलाई
आगोको लप्काहरुले छोइसकेको छ
म दन्किन थालेको छु दन्दनी
र पनि
शान्त रहनु ?
मात्र पुत्ताएर सिद्धिनु ?
**************
यो अन्तिम पलमा
मात्र फुस्सफुस्स पुत्ताउनु ?
अहँ , सक्दिन म
सक्नु पनि कसरी ?
गिँडिएको छु / टुकृएको छु
झोसिएको छु / ठोसिएको छु
खरानी बन्नुको -अर्को विकल्पै छैन
*********************
हो ,
आगोमा परेपछि
चड्किनु / पड्किनु
मेरो प्रकृति हो / मेरो बिशेषता हो
र पनि
पड्किनकै निम्ति तिम्रोमा आइनँ म
चड्किनकै निम्ति तिम्रोमा धाइनँ म
बस्
तिम्रा हातहरुबाटै
ढलाएर / गिँडाएर / टुक्राएर
ल्याईएको छु र झोसिएको तिम्रो अगेनोमा।
**************************
बन्नै परेपछि खरानी
फुस्सफुस्स पुत्ताएर किन बन्नु र मैले ?
चड्किन्छु / पड्किन्छु
चड्किनै परेपछि - विस्तारै किन चड्किनु ?
पड्किनै परेपछि - विस्तारै पड्किनु ?
पड्किन्छु भत्काउदै अगेनाका डिलहरु
चड्किन्छु उडाउदै आगोका फिलिंगाहरु
****************
अपेक्षा
फुटाउन सकुँ तिम्रो आखाँ / टुक्राउन सकुँ तिम्रो हात
चाहना
मेरो बिजबाट जन्मिएकाहरु
नढालिउन / नगिँडिउन
फलाउदै आफ्नै स्वादका फल - आफ्नो आयु बाँचिरहुन
खादै मीठा फल - मेरा पिर्य चरिहरु नाँचिरहुन

कविता -- कालो पोतिएको अनुहार !

Written By खांट्टी कुरा on Friday, July 18, 2014 | July 18, 2014

समा श्री
सूर्य अस्ताउनुको पर्याय
सूर्यकै अबसान होइन
फगत एकदिनको मात्र अन्त्य हो
सन्ध्या
थाकेको सूर्यलाई
निशाको गर्भमा हुलिदिन्छे
क्षितिज रक्तिम पारेर
उषा एकाबिहानै
पुन: सूर्यलाई ओकेल्छे
क्रमेण क्रमेण

आगो निभ्नुको अर्थ
आगोको मृत्यु होइन
क्रियाशीलता सिथिलतामा बदलिनु मात्र हो
एक तह मौन भुंग्रोभित्र
शान्त आगो जिवितै रहन्छ
खरानी आफ्नो सप्कोले छोपेर
सानो हावा फुकिनासाथ
फेरी उदाङ्ग पारिदिन्छे
क्रमेण क्रमेण

निशाको कोखको सूर्य नियमित सत्य हो
भुङ्गाभित्रको आगो साश्वत सत्य हो
मौनता भित सत्य मर्दैन
अक्रियाशिलाता भित्र पनि सत्य मर्दैन
सत्य त मर्दै मर्दैन
तरल
तरल सोचका प्रतिक्रियाले
सत्यको तातो सहन नसकेर
आँखामा छारो फ्याँक्छन्
ढोल पिट्छन चिच्याउँछन
क्रमेण क्रमेण

सिथिल हुन्छन थाक्छन
धतरी फोडेर लावा निस्किएझै
सत्य
असत्यलाई खरानी पारेर निस्किन्छ
सहस्र सूर्यको प्रकाश बोकेर
त्यतिबेला मलाई
झुठ पोतिएको अनुहार
फर्की फर्की हेर्न मन लाग्छ


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger