8.10.2016

धर्तीमा समाधिस्थ एउटा फुल

धरान निवासी 'निराकार' नामले साहित्यमा कलम चलाउनु हुने  कवीको कविता संग्रह 'आजादी' बाट आज एउटा कविता पस्केको छु । आसा छ अबस्य पनि मन पराउनु हुनेछ

..
एउटा त्यस्तो प्रतिक्षा
कविताको बुक कभर
जुन अत्यन्तै लामो पनि
अनि छोटो पनि ।
छातीभित्र
तिम्रो आगमनको कैयौं तरङहरु सल्वलाए
अनगिन्ती फुलहरु फुलिदिए
एउटा अदभुत तृष्णालाई
हामी नजिकवाट स्पर्ष गरिरहेका थियौं ।
नभन्दै हाम्रो माझ फुल्यौ,
हामी पनि तिमीसंगै फुलिदियौं
मुस्कुरायौ, हामी पनि मुस्कुरायौं
रोयौ, हामी पनि रोयौं
टोलायौ, हामी पनि टोलायौं
दुख्यौ, हामी पनि दुख्यौं
निदाउन सकेनौ, हामी पनि अनिदोलाई निलिदियौं
खान सकेनौ, हामी पनि भोकहरु पचाइदियौं
तिमीले सहन सक्यौ तर हामीले सहन सकेनौं
तिमीले जुझयौ, तर हामीले तिमीलाई बल थप्न सकेनौं
तिमी जितेर गयौं, तर हामी हरेर बस्यौं
अनि यहाँ छौं ।
तिमी एउटा फुल
धर्तिमा एक्लै समाधिस्थ भयौ
हामी पनि एक्लै भयौं
रंगिविरंगी फुलका थुंगाहरुले छोपियौ ।
फुलका तरङ्गहरु बोकि आएर फुलहरुसंगै गयौ ।
हामी अवाक भयौ
स्तब्ध भयौं
आवज विहिन भयौं
सम्झना मात्र छोड्यौ
आँसु झार्नको निमित्त आँसु उमारेर गयौ
तिमी आँखा चिम्लियौ,
हामी आँखा खोलेर पनि अंध्यारोमा हरायौं ।
तिमी धर्तिमा विलिन एउटा फुल
सम्झनामा संधै जिवित छौ
तिमी संधै बाँचिरहेको छौ ।

(२६ मे २०१०, फार्नवोरो)

5.22.2016

कविता

कविता
राजु घिमिरे
पढाई लेखाई सकेर
जीवन बाँच्ने एउटा जागिर खोज्दै थियो ऊ
देशमा जनयुद्ध सुरु भयो
गाँउ
लुकामारी युद्धको क्रिडस्थल बन्यो
बम बारूद र बन्दुकको
एक मन त विदेश जान पनि खोज्थ्यो
तर जुरेन साईत उसको

युद्धको सिपाही बन्यो ऊ

संगै सुतेकाहरु भोलिपल्ट शहिद हुँदा
बाँचेको मान्छे ऊ
बस्ति बस्तीमा मुक्तिको
सपना बाँडेर
उन्मुक्तिको भाषा बोल्थ्यो
भोलि जनविरोधीहरुको सफायाको
निर्णय गरेर
एक निन्द्रा नपुग्दै
अर्को बिहानको सुर्योदयसँगै
युद्धको बिश्रान्ति भएछ
आज काँधको बन्दुक

कम्मरको ग्रिनेट बिसाउने
भोली अर्कैलाई बुझाउने
आदेशसँगै
५ लाखको भाउमा
बिकेको जिन्दगी
मुक्तिको सपना बाँडेर उन्मुक्तिको भाषा बोलेको मान्छे
पीडाबोध र ग्लानीले पानी पानी भएर
भासियो खाडीमा
दुई चार वर्ष बित्यो

फेरी तानिएर
देशको मायाले
गाउमा पाईला राख्न नपाउदै
बिहान भेटेर एउटा समुहले भन्दै छ
अधुरो क्रान्ति पुरा गरौ
साँझ बोलाएर अर्को समुहले
कान फुक्दै छ, उसको
अब
समाजबादको कार्य दिशा
लागु गर्न जुटौँ
धेरैले भनिसके उसलाई
एउटा धार समात्नै पर्छ
कुन धार समात्ने
बिचरा
आमा बाबुको
बिहे गर अब !
भन्ने कचकचले

आफैँ दोधारमा छ !

5.04.2016

कविता: चिट्ठी

कवयत्री: समाश्री
घर पुगेर
पठाएको खाली खामले पनि
भनिदिन्छ समाचार
यताको कुशलताको
घरभरि फैलाइदिन्छ सुगन्ध
आशाहरुको भरोसाहरुको

खस्रा ठेला उठेका हातले
पसिनालाई मसी बनाउँदै
जब कलम समाउछ
तब औँलाहरु भावमा नाँच्दछन्
कागजमा लेखिने अक्षरहरु
विभिन्न मुद्रामा नृत्यरत हुन्छन्
बेढंगी भएर नाच्ने अक्षरहरु
अर्थ खोल्दैनन् भाव पोख्छन्
मज्जैले बुझिन्छ लेखोट
खाम भित्र बन्द गरेर पठाएको
मेहनतको मिठास भोकको स्वाद बनिदिन्छ
पसिनाको गन्ध मीठोअत्तर बनिदिन्छ
चुर परेको थकाइका सपना बनिदिन्छ
हातका ठेलाहरु आशीर्वाद बनिदिन्छ
एकान्तका सुस्केराहरु ढोग बनिदिन्छ
त्यता बाँझै छाडेको भविष्यको खेतलाई
यताको बलियो अठोटको टुप्पो हलो बनाएर
उर्वर बनाउँनु छ
त्यसैले ओकलिन्छ
यता उम्लने सूर्यलाई
यता च्याँठ्ठिने पेटलाई
यता अरठ्ठिने ज्यानलाई
यता बिझाउने सम्झनालाई
यता टिठ्याउने माटोलाई
चिठ्ठिमा शब्द बनाएर
पठाइन्छ बेलामौकामा
सन्देश कुशलताको ||
..
प्रकाशित मिति: २०७३ बैशाख २२ गते बुधवार

9.20.2015

आजको कबिता

तस्बिर साभार : कविको फेसबुकबाट
कबि: लामिछाने राम
...
को हुन ती ?
नेपाली हुन या आप्रवासी ?
जो देशको प्रधानमन्त्री भन्दा ठूलो बिदेशी सम्झिने!
को हुन ती ?
मधेसी हुन या बिहारी ?
संविधान सभा भन्दा बिदेशी राजदुतावास ठूलो सम्झिने !
को हुन ती ?
नेपाली हुन या शरणार्थी ?
जो नेपाली झण्डा भन्दा ठूलो स्वास्निको फरिया सम्झिने !
को हुन ती ?
नेपाली हुन या बिदेशीका दलाल ?
नेपालीलाई भन्दा बडि बिदेशीलाई बिस्वास गर्ने र सम्झिने !
ती दलाल हुन।
बिस्तारवादिका भरौटे हुन।
दक्षिणी मलद्वार बाट फुस्किएका दुर्गन्ध हुन।
पस्चिमी डलर बाट ढुस्सिएका अपराधी हुन।
समग्रमा अवसरवादी र अपराधी हुन।
नेपाली थिए भने चन्द्रसुर्यको अपमान किन ?
नेपाली थिए भने बुद्ध र सीता को अपमान किन ?
नेपाली थिए भने सगरमाथा र कंचनजंगाको अपमान किन ?
नेपाली थिए भने मेची महाकालीको अपमान किन ?

8.29.2015

कविता :मूल्य हराएको युग

प्रत्येक बिहान
क्षितिजको गर्भबाट
कवी: हिमाल चन्द्र बराल
सुकेनासग्रस्त निन्याउरो सूर्य जन्मिन्छ
त्यसपछि मर्छन आशाका रंगीविरंगी सूर्यमुखीहरु
प्रत्येक साँझ
अपसकुन रोइरहन्छ जून
अनि मानवताको ओठबाट हराउँछ मुस्कान !
प्रत्येक दिन
हृदयहरुको बस्तीबाट
चोरिन्छ संवेदनाको सन्दुक
त्यसपछि अनास्थाको पहिरो जान्छ
जीवनको पहाडमा
डाइनोसोरनियति भोग्छ नैतिकता
र शुरु हुन्छ उत्तरआधुनिकता ढुंगेयुग !
आगो ओकलिरहेछ समय
धरापमा छ बाटो र पाइलाबीचको सम्बन्ध
संकटमा छ हिमाल र हिउँबीचको साइनो
शान्तिको प्रचारयुद्धमा होमिएको छ
आजको मार्केटिंग युगको बुद्ध !
स्वदेशमै शरणार्थी भएपछि
पासपोर्ट बनाउन लामबद्ध छ राष्ट्रियता
आमाको इमानको फूली बन्धकी राखेर
बाबुको स्वाभिमानको टोपी बेचेर
प्राप्तिको कुन सिकन्दरिय साम्राज्य जित्नुछ ?
मुटुलाई ढुकढुकीमाथि विश्वास छैन अचेल
त्यसैले
हृदयको गुडमा फर्काउनुछ - प्रेमको पंक्षीलाई
आस्थाको वीज रोपेर
गर्भवती तुल्याउनु छ बाँझो वर्तमानलाई
र जन्माउनु छ
आदर्शकोलागि हेमलक पिउने सुकरात हैन
प्रत्येक मान्छेभित्रको अंगुलीमाललाई रुपान्तरण गर्ने
एउटा अजेय तथागत
सच्याउनु छ संगति नमिलेको जीवनको व्याकरण
अनि भविष्यको मुहारमा पोत्नुछ
कहिले नओइलाउने अपनत्वको लालिमा !  !  !

12.15.2014

कविता: सिपाहीको स्वास्नी ।

समाश्री 
बाहिरी परतमा बसन्त
पालुवा लागेका फूल फुलेका
यौवन
लहलहाउँदो
तर संगिना
केलाएर हेर त
मेरो बसन्तको पतझड पक्ष
आँखा दृष्य देख्छ दुविधा देख्दैन
आँखा भाव देख्छ भावना देख्दैन
परिधान भित्रको कोढ
ऊ आए पनि चहर्याउँछ
ऊ गए पनि चहर्याउँछ

12.07.2014

कविता: बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरु ।

कवयत्री: डाइटिसियन सुसिला शर्मा
मेराे बुद्ध कहाँ छ भनि खाेजीरहेछु भूगाेलमा 
 हिमाल पहाड़ तराई भन्छ बुद्ध संगै हामीमा
सगरमाथा चिच्याउन थाल्याे बुद्ध मेराे हिउमा
बुद्ध जन्मेकाे देशमा आजका स्वरलहरीहरुमा

बुद्ध भन्दै थिए म तिम्राे प्रकृति बचाउने संगमा
एकएक गर्दै खाेजीमा छु बुद्धका स्वरलहरीहरुमा
बुद्ध भन्दै थिए सबैले खाेजीरहेछाै अदृश्यमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

तर म शान्ति खुसी अहिम्साका माझमा
प्राणीहरुकाे रक्षा आजका स्वरलहरीहरुमा
स्वरलहरीहरुमा प्राणीहरुकाे शान्ति खाेजीमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

सबै प्राणीहरूमा आफु जस्तै समानता खाेजीमा
सबै प्राणी प्राणी बिचमा घनिष्ठता बढाउनमा
सबै प्राणीकाे खुसी आजका स्वरलहरीहरुमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

बिश्वले खाेज्दैछ बुद्ध जस्तै स्वरलहरीहरुमा
बुद्ध दिन खाेज्दैछ आफु जस्तै स्वरलहरीहरुमा
सबै प्राणीकाे समानता आजकाे स्वरलहरीहरुमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

मेराे बुद्ध कहाँ छ भनि खाेजीरहेछु भूगाेलमा
हरियाेडाडा बन जन्गल भन्दैछ बुद्ध हामीमा
सगरमाथा चिच्याउन थाल्याे बुद्ध मेराे हिउमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

10.27.2014

कविता -- सुनकोशी र पहिरो

समा श्री
गिलो छातीमा छोडेका पदछाप
अब गिलो रहेनन्
चट्टान भएका छन्
कठोर अति कठोर भइसके
आँखा भने अझै गिला छन्
सप्को भिजाउँदै
जब नानीहरू अबोध प्रश्न गरिदिन्छन्
"बा खै ?" भनेर
आँशुको श्रोत चाहार्छु
तब कलेजी रेटिन्छ
अनि भेटछु
थुप्रै बिझाउने कुराहरू
आँखालाई धेरै कुराले बिझाउँदा रहेछन्...
शब्द त फूल भन्दा कोमल हुनुपर्ने
तर होइन रहेछ
कोमलता जिब्रोले मात्र सम्हाल्दो रहेछ
बचन त हृदय बेधने धारीला बाण रहेछन्
भित्रभित्रै पहिरो जान्छ
सेती खोँचझैँ
नसानसामा लावा बनेर
प्रश्न दगुरिदिन्छ
चट्टान हृदयबाट प्रवाहित रसले
आँखालाई गिला बनाउछन्
आँखालाई प्रश्नले पनि बिझाउँदो रहेछ

तिमीले के गर्‍यौ ?
गर्न हुने गर्‍यौ कि
गर्न नहुने गर्‍यौ ?
तिम्रो मृत्यु
अनेक उपमा र अलंकार युक्त छन्
मानिसहरू त्यसै भन्छन्
मृत्युलाई वरण गर्नु
के तिम्रो महानता हो ?
या प्राप्तिको लागि बलि ?
मलाई सोध्न मन लाग्छ
त्याग गरेर तिमीले के पायौ ?
त्याग गरेर तिमीले के दियौ ?
तिमी कहाँ छौ थाहा छैन
तर नानीहरूका प्रश्नको जवाफ दिन
यहाँ कोही छैन
यहाँ कोही पनि छैन
एकलासमा तिम्रो अनुपस्थिति
आँखालाई गिला बनाउछन्
आँखालाई अनुपस्थितिले पनि बिझाउँदो रहेछ

ओठलाई बलजफति जोडेर
शब्द नखस्ने बाँध बनाउन
दुष्कर हुँदो रहेछ
यहाँ त बाध्यताले
ओठ सिइदिएका छन्
भित्र गहिरो कालो गाढा मौनता
प्रतिपल जन्मिदैछ
मौनता अर्थहिन हुँदैन
मौनता निर्वल पनि हुँदैन
यो बडो निर्दयी हुन्छ
यो बडो जण्ड हुन्छ
दुष्परिणामको भयले
मेरो हृदय काँप्छ
म जबरजस्ती मौनतालाई सुस्केरामा बेह्रेर
फुस्स उडाइदिन्छु
माउ माकुरी बनेर
रक्षा गर्छु नानीहरूको
र उनीहरूलाई हेर्छु
प्रश्न गर्दागर्दा
उत्तर नपाएर निराश नानीहरू
आजकाल प्रश्न गर्दैनन्
कहिले एकटक भित्तातिर हेरिरहेका हुन्छन्
कहिले आकाश हेर्दै टोलाइरहेका हुन्छन्
थाकेर जब उनीहरू
मेरा आँखामा हेर्छन्
तब शून्यता
आँखालाई गिलो बनाउछ
आँखालाई शून्यताले पनि बिझाउँदो रहेछ

सुनकोशी
पहिरो नजाँदा पनि बगेको थियो
सुनकोशी
पहिरो गएपछि पनि बगिरहेकै छ ।

9.13.2014

आजको कविता !

ओ ! अन्जु पन्त
लु आईज
खोलेरै देखाउछु तलाई ।
मैले
खप्ट्याएर राखेको छु
र आमा
गिता ओछ्याएर बाईवल सुतेको देख्नुहुन्छु
र बा
बाईवल ओढेर गिता सुतेको भेट्नुहुन्छ ।
कृष्ण प्रणामी मन्दिरको बायाँपट्टि
बौद्द्स्तुपा नजिकैको जाँमे मस्जिद सङ्ग जोडिएको तेरो चर्चबाट
घर फर्किदै गर्दा
आईज मेरो घरमा
देखाउछु
मेरो कोठको त्यहि दराज
जहाँ राखेको छु गिता र बाईवल ।
के त भन्न सक्छेस मेरी आमा हिन्दु होईनन् ?
के तँ भन्न सक्छेस् मेरा बा कृश्चियन होईनन् ?
कृपया !
बहिनिले दुईचुल्ठि बाँट्दा
आमाले सिंदुर लगाउदा
बाले ढाका टोपि मिलाउदा हेर्ने
दराजको शिशामा
हेरेर तेरै ओठको रातो लालि नमुस्कुराउनु तँ
किनकि
धर्मबेश्या हाँसेको मनपर्दैन मेरो दराजलाई ।

8.15.2014

म भकिम्लाको दाउरो !

म भकिम्लाको दाउरो !
म भकिम्लाको दाउरो
कबि: एस.के.निधन
मलाई
आगोको लप्काहरुले छोइसकेको छ
म दन्किन थालेको छु दन्दनी
र पनि
शान्त रहनु ?
मात्र पुत्ताएर सिद्धिनु ?
**************
यो अन्तिम पलमा
मात्र फुस्सफुस्स पुत्ताउनु ?
अहँ , सक्दिन म
सक्नु पनि कसरी ?
गिँडिएको छु / टुकृएको छु
झोसिएको छु / ठोसिएको छु
खरानी बन्नुको -अर्को विकल्पै छैन
*********************
हो ,
आगोमा परेपछि
चड्किनु / पड्किनु
मेरो प्रकृति हो / मेरो बिशेषता हो
र पनि
पड्किनकै निम्ति तिम्रोमा आइनँ म
चड्किनकै निम्ति तिम्रोमा धाइनँ म
बस्
तिम्रा हातहरुबाटै
ढलाएर / गिँडाएर / टुक्राएर
ल्याईएको छु र झोसिएको तिम्रो अगेनोमा।
**************************
बन्नै परेपछि खरानी
फुस्सफुस्स पुत्ताएर किन बन्नु र मैले ?
चड्किन्छु / पड्किन्छु
चड्किनै परेपछि - विस्तारै किन चड्किनु ?
पड्किनै परेपछि - विस्तारै पड्किनु ?
पड्किन्छु भत्काउदै अगेनाका डिलहरु
चड्किन्छु उडाउदै आगोका फिलिंगाहरु
****************
अपेक्षा
फुटाउन सकुँ तिम्रो आखाँ / टुक्राउन सकुँ तिम्रो हात
चाहना
मेरो बिजबाट जन्मिएकाहरु
नढालिउन / नगिँडिउन
फलाउदै आफ्नै स्वादका फल - आफ्नो आयु बाँचिरहुन
खादै मीठा फल - मेरा पिर्य चरिहरु नाँचिरहुन

7.18.2014

कविता -- कालो पोतिएको अनुहार !

कविता -- कालो पोतिएको अनुहार !
समा श्री
सूर्य अस्ताउनुको पर्याय
सूर्यकै अबसान होइन
फगत एकदिनको मात्र अन्त्य हो
सन्ध्या
थाकेको सूर्यलाई
निशाको गर्भमा हुलिदिन्छे
क्षितिज रक्तिम पारेर
उषा एकाबिहानै
पुन: सूर्यलाई ओकेल्छे
क्रमेण क्रमेण

आगो निभ्नुको अर्थ
आगोको मृत्यु होइन
क्रियाशीलता सिथिलतामा बदलिनु मात्र हो
एक तह मौन भुंग्रोभित्र
शान्त आगो जिवितै रहन्छ
खरानी आफ्नो सप्कोले छोपेर
सानो हावा फुकिनासाथ
फेरी उदाङ्ग पारिदिन्छे
क्रमेण क्रमेण

निशाको कोखको सूर्य नियमित सत्य हो
भुङ्गाभित्रको आगो साश्वत सत्य हो
मौनता भित सत्य मर्दैन
अक्रियाशिलाता भित्र पनि सत्य मर्दैन
सत्य त मर्दै मर्दैन
तरल
तरल सोचका प्रतिक्रियाले
सत्यको तातो सहन नसकेर
आँखामा छारो फ्याँक्छन्
ढोल पिट्छन चिच्याउँछन
क्रमेण क्रमेण

सिथिल हुन्छन थाक्छन
धतरी फोडेर लावा निस्किएझै
सत्य
असत्यलाई खरानी पारेर निस्किन्छ
सहस्र सूर्यको प्रकाश बोकेर
त्यतिबेला मलाई
झुठ पोतिएको अनुहार
फर्की फर्की हेर्न मन लाग्छ