Home » » बेतुकको स्याल हुईय्या मच्चाउनुको के अर्थ ?

बेतुकको स्याल हुईय्या मच्चाउनुको के अर्थ ?

Written By खांट्टी कुरा on Monday, July 04, 2016 | July 04, 2016

-जनकमान डंगोल 
कुनै गाउँमा एउटा भोका स्याल आएर ‘चिल आयो, चिल आयो’ भनेर कराउँदो रैछ । सोझासिधा गाउँलेहरु स्यालको कुरामा बिस्वास मानेर आकाश तिर फर्केर हेर्दो रैछ । गाउँलेहरु आकाशतिर फर्केको मौका छोपेर बाठो स्यालले खोरबाट कुखुरा टिपेर टाप कस्दो रैछ ।

बिगत केहि दिन देखि पत्रपत्रिका देखि सामाजिक संजालको भित्तोहरुमा ‘कर्णाली बचाउँ’ भन्ने जेहाद छेडिएको छ । स्वदेस देखि बिदेसबाट छेडिएको यो जेहादले सत्तासिनहरुको कान पक्कै पनि पाकेको हुनु पर्दछ तर कर्णाली सम्झौता बदर गर्ने हिम्मत भने कसैले पनि गरेका छैनन ।

२००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्र आयो । प्रजातन्त्र ल्याउन भनेर त्याग र तपस्या गर्ने नेपाली जनताहरु हुन । नेपालि जनताहरुको त्याग र तपस्याको उपहार पहिलोपटक कोशी र दोश्रो पटक गण्डक सम्झौता भारत संग गरेर देखाउने नेपालका बहादुर पार्टी नेपाली कांग्रेसका नेताहरु थिए । यी दुवै सन्धि र सम्झौता २००७ देखि २०१५ सालको बिचमा भएको थियो ।

नदि बेचे तर सडकमा निस्केर बिरोध गर्न कोहि आएनन । २०१७ सालमा नेपालमा दलविहीन पंचायती ब्यबस्था घोषणा गरियो । नदिबेचुवा कांग्रेस भनेर झिनो स्वरमा भने । त्यस्तो भन्नेमा अरु कोहि नभएर हिजो कांग्रेस तथा कम्युनिस्टको समर्थनमा नारा लाउनेहरू एक्कादुक्काहरुनै थिए ।

नेपालमा प्रजातन्त्र हामीले गर्दा आएको हो भनेर घिरम्ले नाक बनाउने कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुमा लाग्नेहरु हुन । नेपालमा २००७ साल देखि आजको मिति सम्ममा जति पनि क्रान्ति तथा आन्दोलन भयो र त्यो आन्दोलनमा बिचको भूमिका निभाउने छिमेकी भारतका सत्तासिन नेताहरु हुन । बिचौलियाको भूमिका निभाए बापत नदीनाला लैजाने गर्छन । कांग्रेस पार्टी सत्तामा पुग्नासाथ नदिनाला छिमेकी भारतलाई दिनुको हतारको कारण यहि नै हो । छिमेकी भारत बिना नेपालमा राजनीति परिवर्तन सम्भव छैन भन्ने यो जस्तो ठुलो पुख्ता प्रमाण अरु के हुन्छ ।

हिजो कोशी देखि गण्डक छिमेकी भारतलाई सित्तैमा दिइयो । झिनो स्वरमा बिरोध भयो । २०४६ साल पछी प्रजातन्त्र आएको खुसियालीमा महाकाली दिइयो । महाकाली नदीको सन्धि हुँदा राजधानी देखि देसका ठुला सहरहरुमा बिरोधको जेहाद छेडियो । राजधानी काठमान्डौको सडक पेटीहरुमा रहेको रेलिंग भाँचेर जात्रा देखाए । सरकारमा नेपाली कांग्रेस विराजमान तर बिरोध गर्ने कम्युनिस्ट पार्टीका नेता देखि कार्यकर्ताहरु  न महाकाली सन्धि खारेज भो न हिजोका कोशी देखि गण्डकी सम्झौता खारेज गरिए । स्याल हुईय्या भनेको यस्तैलाई भनिन्छ

राणा शासन हटाउनमा पहिलो पटक मुख्य सहयोगीको भूमिका निभाए बापतको उपहार कोशी र गण्डक, पंचायति शासन हटाउनमा दोश्रो पटक मुख्य सहयोगीको भूमिका निभाए बापत महाकाली र अहिले तेश्रो पटकमा गणतन्त्र हुल्देको बापतमा दक्षिणास्वरूप फेरी कर्णाली नदि उपहार दिने पनि अहिलेका राजनीतिक पार्टी कांग्रेस तथा कम्युनिस्टका नेताहरु हुन ।

२०४६ साल देखि आजको मिति सम्ममा खांटी स्वतन्त्र नेपाली जनताहरु भेटन सकिदैन । नेपाली जनताहरुलाई विभिन्न पार्टीका आस्थावान कार्यकर्ता देखि समर्थक बनाउनमा अहिलेका पार्टीका नेताहरु सफल भएका छन । आफ्नो पार्टीको लागी भनेर ज्यु ज्यान समेत अर्पिंन पछी हट्दैनन भन्ने कुरा विभिन्न समयमा देखाएको आन्दोलनले पुस्टि भै सकेको छ । देसको लागी नभएर राजनीतिक पार्टीको लागी ज्यु ज्यान अर्पिंन तयार हुन्छन भने छिमेकीले नदीनाला देखि साँध सिमाना हड्पियो भनेर चित्त दुखाउनुको के नै तुक भो र ।

अहिले कर्णालीको बिषयलाई लिएर जो जसले जेहाद छेडेका छन ति अभियन्ताहरु पनि कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध छन । कांग्रेसले गरेको सन्धि सर्पन बेठिक भन्ने बिद्द्वानहरु महाकाली सन्धिमा साछी बस्नेहरु चै कसरि ठिक भए । कर्णाली सन्धि बेठिक भनेर अहिलेका सत्तासिन कम्युनिस्ट पार्टीका नेताहरुले भन्न सक्दैनन । समर्थन गरेको पार्टी सर्खारमा बसेर सत्ता हाक्दैछ । सन्धि गर्ने पार्टी विपक्षमा बसेका छन । पार्टीका कार्यकर्ता देखि आस्थावान सिपाही बनेसी आफ्नो सेनापतिको बिरोध गर्न नैतिकताले दिदैन ।

नैतिकता भएको भए सिमा मिचिंदा देखि नदीनाला बेचिँदा सम्मको घटनाहुँदा नेपाली जनताहरु सडकमा ओर्लेर बिरोध गर्न सक्नु पर्थ्यो । नैतिकता नभएका पार्टीका नेताहरुको मोहिनीपाशमा बाँधिएको भएर होला हामि नेपाली जनताहरु चाहेर पनि आफ्ना पार्टीका नेताहरुको गलत काम र क्रियाकलापको बिरोध गर्न सक्दैनौ भने आफ्ना पार्टीका नेताहरुले गरेको गलत कामको निउं बनाएर छिमेकीलाई गालि किन गर्ने ?

जबसम्म अहिलेका च्याउ पार्टीका नेताहरुको मोहिनीपाश बाट नेपालीहरु जनताहरु मुक्त हुन्नन तबसम्म बिरोध गर्नुको कुनै अर्थ हुन्न । भोट दिएर जिताएको पार्टीका नेताहरुले रास्ट्र र जनता प्रति पटक पटक गद्धार गर्दा पनि पार्टीको नाउँमा भन्दै भोट दिन छाडेनन भने जुवाडेले सकेको सम्पति जस्तै हुनेहो देस । जुवाडे भनेर थाहा पाउँदा पाउँदै पनि जुवाडेको पछी लाग्ने तपाई हामीहरुले रास्ट्र र रास्ट्रियताको खोक्रा आदर्श छाटेर झिना मसिना स्वरमा बिरोध गर्नुको कुनै अर्थ हुन्न ।

पुर्खाले जोडी दिएको नासो बचाउने हो भने अब सबै नेपालीहरुमा चेत खुल्नु जरुरि छ । अहिलेका प्राय: सबै ठुला साना राजनीतिक पार्टीहरु देस सिध्याउने खेलमा लागेका छन । रास्ट्र र रास्ट्रियता भन्दा सत्ताको मोहपासमा बाधिन रुचाउने पार्टीका नेताहरुले देस सिक्किम बनाउन बेर छैन त्यसैले रास्ट्र र रास्ट्रीयताको जगेर्ना गर्ने हो भने अहिलेका सम्पूर्ण राजनीतिक पार्टीहरुलाई बहिष्कार गरेर स्वतन्त्र बस्न सक्नु पर्छ । पार्टी र नेताको माया गर्न नछाड्ने हो भने तपाई हामीहरुले बिरोधको घण्टा बजाउनु भनेको सुरुकै हरफमा उल्लेख गरिएको स्याल हुईय्या भन्दा अरु केहि पनि हैन ।
 ई-कोशी डटकममा प्रकाशित 
प्रकाशित मिति: २०७३ आषाढ २० गते सोमबार
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger