Home » » कविता :मूल्य हराएको युग

कविता :मूल्य हराएको युग

Written By खांट्टी कुरा on Saturday, August 29, 2015 | August 29, 2015

प्रत्येक बिहान
क्षितिजको गर्भबाट
कवी: हिमाल चन्द्र बराल
सुकेनासग्रस्त निन्याउरो सूर्य जन्मिन्छ
त्यसपछि मर्छन आशाका रंगीविरंगी सूर्यमुखीहरु
प्रत्येक साँझ
अपसकुन रोइरहन्छ जून
अनि मानवताको ओठबाट हराउँछ मुस्कान !
प्रत्येक दिन
हृदयहरुको बस्तीबाट
चोरिन्छ संवेदनाको सन्दुक
त्यसपछि अनास्थाको पहिरो जान्छ
जीवनको पहाडमा
डाइनोसोरनियति भोग्छ नैतिकता
र शुरु हुन्छ उत्तरआधुनिकता ढुंगेयुग !
आगो ओकलिरहेछ समय
धरापमा छ बाटो र पाइलाबीचको सम्बन्ध
संकटमा छ हिमाल र हिउँबीचको साइनो
शान्तिको प्रचारयुद्धमा होमिएको छ
आजको मार्केटिंग युगको बुद्ध !
स्वदेशमै शरणार्थी भएपछि
पासपोर्ट बनाउन लामबद्ध छ राष्ट्रियता
आमाको इमानको फूली बन्धकी राखेर
बाबुको स्वाभिमानको टोपी बेचेर
प्राप्तिको कुन सिकन्दरिय साम्राज्य जित्नुछ ?
मुटुलाई ढुकढुकीमाथि विश्वास छैन अचेल
त्यसैले
हृदयको गुडमा फर्काउनुछ - प्रेमको पंक्षीलाई
आस्थाको वीज रोपेर
गर्भवती तुल्याउनु छ बाँझो वर्तमानलाई
र जन्माउनु छ
आदर्शकोलागि हेमलक पिउने सुकरात हैन
प्रत्येक मान्छेभित्रको अंगुलीमाललाई रुपान्तरण गर्ने
एउटा अजेय तथागत
सच्याउनु छ संगति नमिलेको जीवनको व्याकरण
अनि भविष्यको मुहारमा पोत्नुछ
कहिले नओइलाउने अपनत्वको लालिमा !  !  !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger